भोजपुर । शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको छ । शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले भोजपुर नगरपालिका–८ पोखरेमा भवनको शिलान्यास गरिएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिले निर्माण थालेको भवनको कोशी प्रदेशका पूर्वमूख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई र कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
भवन निर्माणका लागि कोशी प्रदेश सरकारबाट २५ लाख र स्थानीय पालिकाबाट १४ लाख ५० हजार बजेट विनियोजन भएको राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका अध्यक्ष ध्रुवराज रेग्मीले जानकारी दिए । यो भवनबाट जिल्लाको शैक्षिक अवस्था तथा नवीनतम विषयवस्तुको खोज तथा अनुसन्धान गरिने अध्यक्ष रेग्मीको भनाइ छ ।
‘शैक्षिक क्षेत्रको विकास तथा खोज अनुसन्धान गर्ने लक्ष्यले शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरेका छौँ, ’अध्यक्ष रेग्मीले भने, ‘भवन निर्माणका लागि प्रदेश सरकारसँगै स्थानीय पालिकाहरुको बजेटमा निर्माण थालेका छौँ, शिक्षहरुबाट पनि स्वतःस्फूर्त रूपमा रकम संकलन गरिरहेका छौँ ।’
अनुसन्धान केन्द्र शिक्षक भवन निर्माणका लागि पौवादुङमा गाउँपालिकाबाट तीन लाख, टेम्केमैयुङ गाउँपालिकाबाट दुई लाख ५० हजार, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र अरुण गाउँपालिकाबाट दुई/दुई लाख, हतुवागढी, आमचोक र साल्पासिलिछो गाउँपालिकाबाट एक/एक लाख गरी पालिकाहरुबाट १४ लाख ५० हजार बजेट विनियोजन भएको जनाइएको छ । संगठनको नाममा रहेको तीन रोपनी एक आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण थालिएको संगठनका सचिव विष्णुकुमार राईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया