काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने अधिकांश कानुनहरु निर्माण भइसकेको बताएका छन् । मंगलबार कानुन निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारिता लगायतका सम्बन्धमा संसदीय समितिका सभापतिहरु, सभामुख र उपसभामुखको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले नेपालको संविधान, २०७२ जारी भइसकेपछि हालसम्म २०५ वटा कानुन निर्माण भइसकेको बताए। मन्त्री चौरसियाले विभिन्न मितिमा जारी भएको केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक पर्ने ऐन र कानुनहरुसमेत संविधान अनुकुल बनाउने काम सम्पन्न भएको बताए । उनले विद्यालय शिक्षा सम्बन्धी विधेयक, संघीय निजामती सेवा सम्बन्धी विधेयक लगायतका २५ वटा विधेयकहरु हाल संसद्मा छलफलकै क्रममा रहेकोसमेत जानकारी दिए ।
त्यसैगरी, नेपाल प्रहरी सम्बन्धी विधेयक,सशस्त्र प्रहरी बल सम्बन्धी विधेयक, पर्यटनसम्बन्धी विधेयक, सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयक, पानी जहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरु संघीय संसद्मा पेस हुने चरणमा रहेको उनको भनाइ छ । निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्थानीय सरकार संचालन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक तथा संक्रात्मक पशु रोग नियन्त्रण गर्न बनेको विधेयक लगायतका ११ वटा विधेयकहरु कानुन मन्त्रालयमा सहमतिका क्रममा रहेको समेत उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया