काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानुनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
उनले संसद कानुन बनाउने थलो भएपनि वर्तमान संसदले कानुन बनाउन नसकेको स्वीकार गरे । उनले संसदमा कानुन ल्याउँदा सरकारले आफ्नो आवश्यकता,अध्ययन,बुझाईबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने स्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे । उनले सरकारले कानुन उत्पत्ति गर्दै सांसदहरुको सहभागिता बनाउने प्रबन्ध गर्न आवश्यक रहेको बताए ।
उनले आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषय संसदहरुको भूमिकामा निर्भर हुने बताए । उनले अहिले सांसदहरू नै संसद अधिवेशनको लागि तयार नदेखिएको बताए । उनले समितिहरूले संसदमा पेस भएका विधेयकहरूलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिन सक्नुपर्ने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया