नेपाल–चीन अटोमोबाइल व्यापार प्रवर्द्धन गर्न ‘नाडा र सीसीपीआईटी-अटो’ बीच सम्झौता

लोकपथ
42
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चिनियाँ परिषद् (सीसीपीआईटी-अटो) बीच सहकार्यका लागि सम्झौता भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणमा गएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको टोलीले नेपाल–चीन अटोमोबाइल व्यापार र सहकार्य प्रवर्द्धन गर्न चीनको सीसीपीआर्यटी अटोसँग सम्झौता गरेको हो।

मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमणमा रहेको प्रधानमन्त्री ओलीको भ्रमण दलमा नााडाका अध्यक्ष करण चौधरीसहितको टोली सहभागी छ । उक्त टोलीले मंगलबार सीसीपीआईटी अटोसँग उक्त सम्झौता गरेको हो।

भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधित्व गर्दै नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उपे्रतीको उपस्थितिमा दुई देशका व्यापारिक प्रतिनिधि मण्डलबीच विभिन्न विषयमा छलफल भएको थियो।

उक्त छलफलसँगै नाडा र सीसीआईपी अटोबीच एमओयू साझेदारी पत्रमा हस्ताक्षर भएको हो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब –काउन्सिल (सीसीपीआईटी अटो) ले अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन्।

यो सम्झौताले नेपाल र चीनबीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले जनाएको छ।

सम्झौताअन्तर्गत नाडाले व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालतजस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखेको छ ।

यस्तै सीसीपीआईटी अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिने सम्झौतामा उल्लेख छ। यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिने पनि नाडाले जनाएको छ । जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिनेछ। दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

यो सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम भएको नाडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?