काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने दाबी गरेका छन् ।
चीन भ्रमणको विषयमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)परियोजनालाई लिएर विभिन्न अड्कलबाजी भइरहेको भएपनि त्यो सत्य नरहेको बताएका हुन्। भ्रमणका क्रममा विभिन्न परियोजनाबारे औपचारिक छलफलहरु जारी रहेको उल्लेख गर्दै बिआरआई परियोजनाबारे अहिले नै बोल्नु गलत हुने बताए ।
उनले बीआरआई परियोजनाबारे ज्वाइन्ट स्टेटमेण्ट आएपछि मात्र सबै कुराको जानकारी पाइने बताए। उनले बिआरआई परियोजना राष्ट्रिय स्वार्थको विषय भएकाले अग्राधिकार दिएर अघि बढ्ने कुरामा नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमतिको दस्ताबेज तयार भएको बताए ।
उनले भने, ‘खासगरी बिआरआईलाई हेर्ने सन्दर्भमा बाहिर अनेक ढंगले अड्कलबाजीहरु भइरहेका थिए । बिआरआईका सम्बन्धमा कांग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने ढंगले पनि कुराहरू बाहिर आइरहेका थिए । त्यस्तो होइन हामी राष्ट्रिय स्वार्थको विषयलाई अग्राधिकार दिएर अगाडि बढ्छौँ कांग्रेस र एमालेले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ खालको सहमतिको दृष्टान्त हो स्थापित गरेका छौँ । जहाँसम्म भ्रमणको कुरा छ आज समकक्षि चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिसँग पनि भेट भइसकेको जानकारी हामीले पाएका छौँ । थप विवरण त भोलि जोइन्ट स्टेटमेण्ट आउँला त्यसमा आउनेछन् । हाम्रो पारस्परिक समझदारीमा बनेको तयारीका आधारमा कुराहरू भएका छन् । कुराहरू फलदायी ढंगले भएका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया