एनपीएल : कर्णाली याक्समाथि काठमाडौं गोर्खाजको सनसनीपूर्ण जित

लोकपथ
175
Shares

काठमाडौं । शिखर धवनको अर्धशतकलाई छायाँमा पार्दै काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराउँदै पहिलो जित हासिल गरेको छ । कर्णालीको यो लगातार दोस्रो हार हो ।

जवाफमा १५० रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । काठमाडौंले संघर्षपूर्ण शुरूवात गर्‍यो । ४१ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । शंकर राना ६ रनमा, स्टफेन इस्कीनाजी ३ रनमा, माइकल लेभिट २२ रनमा र भीम सार्की ९ रनमा आउट भए । यसपछि जेराड इरामस र सुमित महर्जनले पाँचौं विकेटको लागि ५७ रनको साझेदारी गर्दै इनिङस सम्हाले। जेराड ३८ रनमा आउट भए ।

यसपछि सुमित महर्जन र कप्तान करण केसीले टिमलाई जिततर्फ अगाडि बढाउँदै थिए । १९औँ ओभरमा सोमपाल कामीको बलमा करण केसीले एक छक्का र चौका प्रहार गर्दै टिमलाई जित नजिक पुर्‍याए । छैटौं बलमा भने सोमपालको बलमा भुवन कार्कीद्वारा करण क्याच आउट भए । करण १० बलमा दुई चौका र दुई छक्कासहित २० रनमा आउट भए । अन्तिम ओभरमा ७ रन चाहिएको थियो । यो ओभरमा एक विकेट गएपनि काठमाडौंले ३ बल अगाडि लक्ष्य पूरा गर्‍यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनायो । ओपनर देव खनाल रनको खाता नखोली आउट भए । लगत्तै चाडविक वाल्टन २१ रन बनाएर पबिलियन फर्कदा कर्णालीले २६ रन बनाउँदा दुई विकेट गुमाइसकेकको थियो । बाबर हयात १३ र गुल्सन झा पनि १२ रनमा आउट भए । तर शिखर धवन क्रिजमा टिके र इनिङ्स सम्हाले । उनले सुझबुझपूर्ण ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । ५१ बलको सामना गर्दै ४ चेका र ५ छक्कासहित अविजित ७२ रनको उत्कृष्ट पारी खेल्दा कर्णालीले १४९ रन बनायो । बलिङमा जेराड इरासमसले २ तथा करण केसी, नेथान सोटर र दीपेश कँडेलले समान १/१ विकेट लिए । दुई खेलमा काठमाडौंको यो पहिलो जित हो । कर्णालीको यो लगातार दोस्रो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?