काठमाडौं । गत मङ्सिर ४ गते राजश्व अनुसन्धान विभागको अनुगमन टोलीले नुवाकोटबाट ना३ख ७०१ नम्बरको कन्टेनरसहित चालकलाई नियन्त्रणमा लियो । रसुवागढी भन्सार कार्यालयबाट भन्सार जाँच पास भएर काठमाडौंतर्फ आउँदै गरेको कन्टेनरलाई विभागको टोलीले नियमित चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो ।
नुवाकोटबाट भन्सार कार्यालयको सिल लगाइएको सामानसहित कन्टेनर नियन्त्रणमा लिएर पुल्चोकस्थित राजश्व अनुसन्धान विभागको हातामा लगियो । कन्टेनर लगिएको दिन अर्थात् मङ्सिर ४ गते साँझ भइसकेका कारण भोलिपल्ट कन्टेनर खोलेर सामान हेर्ने भन्दै त्यस दिन चालकलाई समेत छाडियो ।
कन्टेनरलाई नियन्त्रणमा लिँदा भन्सार कार्यालयले जाँच पास गरी सिल लगाइएको मुचुल्का र भन्सार प्रज्ञापन पत्रसमेत कन्टेनर चालकसँगै थियो । भन्सार प्रज्ञापन पत्रमा उल्लेख भएअनुसार उक्त सामान सुटकेस र सिरक तथा ब्ल्यांककेट थियो । अनि सामान मगाउने कम्पनी थियो, बम्जन इन्टरप्राइजेज ।
मङ्सिर ४ गते कन्टेनर नियन्त्रणमा लिएर भोलिपल्ट मङ्सिर ५ गते खोल्ने गरी चालकलाई छाडिएकामा सामानको मालिक नै आएनन् । त्यसपछिका कैयन् दिन पनि कहिले के त कहिले के बहाना बनाएर सामानका मालिक राजश्व अनुसन्धान विभागमा उपस्थित नै भएनन् । बरु यहीबिचमा राजनीतिक शक्ति प्रयोग गरेर कन्टेनर छुटाउने कोसिस गरियो ।
कन्टेनर नियन्त्रणमा लिएको एक सातासम्म पनि मालिक उपस्थित नभएपछि मङ्सिर ११ गते प्रहरीको सहयोगमा बम्जन इन्टरप्राइजेजका सञ्चालक बुद्ध लामालाई पक्राउ गरियो । सिन्धुपाल्चोक स्थायी ठेगाना भएका लामा जुत्ताको व्यापारी भने होइनन् ।
मङ्सिर ११ गते लामालाई नियन्त्रणमा लिई मङ्सिर १२ गते राजश्व अनुसन्धान विभागको हातामै कन्टेनर खोलेर हेर्दा प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा फरक अर्थात् सुटकेस र सिरक तथा ब्ल्यांककेटको स्थानमा जुत्ता फेला पर्यो, त्यो पनि ब्रान्डेड जुत्ता ।
रसुवा भन्सार कार्यालयबाट पास भएको प्रज्ञापन पत्रमा त्यहाँ तीन वटा फरक फरक साइजका २१० थानका सुटकेस, २५० थान सिरक तथा ब्ल्यांकेट रहेको उल्लेख थियो । ती सामानबापत भन्सार कार्यालयमा ८ लाख रुपैयाँ भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर बुझाइएको थियो ।
भन्सारका कर्मचारी बचाउने आयातकर्ताको तयारी
जब राजश्व अनुसन्धान विभागले प्रज्ञापन पत्रमा भएको भन्दा फरक सामान भेट्यो, त्यसपछि त्यस विषयमा अनुसन्धान अधिकारी नै तोकेर अनुसन्धान सुरु गर्यो । विभागका अनुसन्धान अधिकारीले बुद्ध लामासँग बयान लिँदा उनले भन्सारका कर्मचारीलाई उन्मुक्ति दिने गरी बयान दिएको बुझिएको छ । बम्जन इन्टरप्राइजेजका मालिक बुद्ध लामाले विभागमा बयान दिने क्रममा आफूले सुटकेस, सिरक र ब्ल्यांककेट पनि ल्याएको तर त्यो सामान अर्कै कन्टेनरमा रहेको प्रारम्भिक बयान दिए ।
बयानका क्रममा लामाले भन्सार कार्यालयका कर्मचारीले सामान चेक गरेर सिल लगाएपछि आफूले कन्टेनरको ढोकाको एकापट्टिको नटबोल्ट खोलेर जुत्ता भित्र राखेको बयान दिएका छन् । तर उक्त जुत्ता कसको हो भन्ने बयान दिएका छैनन् भने आफूले सिल नबिग्रने गरी भित्रको सामान झिकेर बाहिरबाट अर्कै सामान राखेको प्रारम्भिक बयान दिएका छन् ।
कन्टेनरभित्र थियो एक करोड ७४ लाखको जुत्ता
राजश्व अनुसन्धान विभागले कन्टेनर खोलेर हेर्दा त्यहाँ केही थान सिरक तथा ब्ल्यांककेट पाए पनि त्यसभित्र भने ठुलो परिमाणमा ब्रान्डेड जुत्ता भेटिएको छ । विभाग स्रोतका अनुसार कन्टेनरभित्र ३ हजार ५ सय जोर ब्रान्डेड जुत्ता भेटिएको छ, जसको भन्सार कार्यालयले निर्धारण गर्ने न्यूनतम मूल्य मात्रै १ करोड ७४ लाख रुपैयाँ बराबरको रहेको छ ।
ब्रान्डेड जुत्तामा लाग्छ ४० प्रतिशत भन्सार महसुल
भन्सार विभागका अनुसार बाहिरबाट आयात हुने अन्तर्राष्ट्रिय ब्रान्डका जुत्तामा ४० प्रतिशत भन्सार महसुल लाग्छ । १ करोड ७४ लाख मूल्याङ्कन हुने जुत्ताको ४० प्रतिशत भन्सार महसुल लाग्दा ६९ लाख ६० हजार रुपैयाँ भन्सार महसुल लाग्दा उक्त जुत्ताको मूल्य २ करोड ४३ लाख ४० हजार रुपैयाँ हुन पुग्छ । उक्त मूल्यमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर अर्थात् भ्याट लाग्छ । उक्त जुत्ताका लागि भ्याट मात्रै ३१ लाख ६६ हजार ८ सय रुपैयाँ लाग्दा भन्सार कार्यालयबाट भन्सार जाँच पास भई प्रज्ञापन पत्र तयार हुँदा जुत्ता आयातकर्ताले १ करोड १ लाख भन्दा बढी रकम भन्सार महसुल र भ्याट तिरेर छुटाउनुपर्ने थियो । तर भन्सार कार्यालयबाट भन्सार जाँच पास भई सामान छुट्दा उक्त सामानका लागि मात्रै ८ लाख रुपैयाँ भन्सार महसुल र भ्याट तिरेर छाडिएको छ । जबकि भन्सार र भ्याटसहित उक्त जुत्ताको मूल्य २ करोड ७५ लाख ६ हजार ८ सय रुपैयाँ हुन आउँछ ।
रसुवा भन्सारका ३ कर्मचारीमाथि छानबिन सुरु
सुटकेस, सिरक र ब्ल्यांकेटको नाममा भन्सार जाँच पास गरी प्रज्ञापन पत्र दिने कार्यमा संलग्न भन्सार कार्यालय, रसुवाका तीन कर्मचारीमाथि छानबिन सुरु भएको छ । भन्सार जाँच पास गर्दा प्रत्येक सामान हेरेर, गन्ती गरेर भन्सार जाँच पास गर्नुपर्नेमा त्यसो नगरी मिलेमतोमा सामान जाँच पास गराएको आशङ्कामा राजश्व अनुसन्धान विभागले रसुवा भन्सार कार्यालयका निमित्त भन्सार प्रशासक शिवम श्रेष्ठ, भन्सार अधिकृत हंस रावल र जाँचकी नायब सुब्बा लोकबहादुर विष्टलाई विभागमै तानेर ऊनीहरूमाथि पनि अनुसन्धान सुरु गरेको छ । ऊनीहरूसँग बयान लिने काम भइरहेको विभाग स्रोतले बताएको छ ।
प्रमुख भन्सार अधिकृत भट्टराई बिदामा
मङ्सिर २ गते रसुवा भन्सार कार्यालयबाट १ करोड रुपैयाँ राजश्व बुझाउनुपर्ने सामान ८ लाख रुपैयाँमै भन्सार जाँच पास हुँदा प्रमुख भन्सार अधिकृत भने बिदामा बसेको पाइएको छ । उक्त दिन प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई भने बिदामा बसेको पाइएको छ । उनी बिदामा बसेका कारण त्यस दिन भन्सार अधिकृत शिवम श्रेष्ठ निमित्त भन्सार प्रमुखका रूपमा रहेका थिए ।
सुटकेस र सिरक अर्कै कन्टेनरमा भेटियो
रसुवा भन्सार कार्यालयबाट ना३ख ७०१ नम्बरको कन्टेनरमा सामान राखेर जाँच पास गरिएको भनिएको सुटकेस, ब्ल्यांकेट र सिरक भने अर्कै कन्टेनरमा फेला परेको छ । पक्राउ परेका बुद्ध लामाकै बयानका आधारमा उक्त सामानहरू रसुवा भन्सारको पोर्टमा रहेको बा ६ ख १००० नम्बरको कन्टेनरमा फेला परेको रसुवा भन्सार कार्यालयले जनाएको छ । उक्त गाडीमा छरपस्ट बनाएर राखिएको अवस्थामा केही थान सुटकेस, सिरक र ब्ल्यांकेट फेला परेको भए पनि परिमाण भने यकिन भइसकेको छैन ।
सामान भेटिए पनि मालिक सोही स्थानमा नभएकाले सामानको गन्ती नगरिएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । उक्त सामानसहित कन्टेनर नियन्त्रणमा लिइएको छ ।
नटबोल्ट खोल्दा सिल सुरक्षित राख्ने सम्भावना कति ?
बम्जन इन्टरप्राइजेजका मालिक बुद्ध लामाले भन्सारका कर्मचारीलाई उन्मुक्ति दिने गरी प्रारम्भिक बयान दिएका छन् । उनले भन्सारका कर्मचारीले जाँच पास गरेको सामानमा सिल लगाएपछि आफूले कन्टेनरको ढोकाको नटबोल्ट खोलेर अर्को सामान हालेको बयान दिए पनि प्राविधिक रूपमा त्यो त्यति सहज देखिँदैन । अत्यधिक तौल हुने फलामको ढोकाको नटबोल्ट खोलेर अर्को स्थानमा राख्दा सिल नबिग्रने सम्भावना करिब करिब शून्य नै हुन्छ । नटबोल्ट खोल्दा ढोकाको बीचमा लगाइने सिल टुट्ने सम्भावना बढी हुन्छ र त्यस्तो सिल आफूखुसी लगाउन मिल्दैन र सकिँदैन पनि । सिल लगाउँदा भन्सारका कर्मचारीले नै सबैको रोहबरमा लगाउने गरिन्छ भने सिल खोल्दा पनि आयातकर्ताको गोदाममा आएपछि मात्रै खोल्न पाइन्छ । बाटोमै त्यस्तो सिल खोल्न पाइँदैन । बाटोमै त्यस्तो सिल खोलेर हेर्ने अधिकार राजश्व अनुसन्धान विभागलाई मात्रै रहेको छ ।
नियन्त्रणमा लिइएको कन्टेनरको सिल सुरक्षित रहेको र त्यसमा छेडखानी गरेको नपाइएको कारण उक्त सिल बाटोमा फेरेर अर्को हाल्ने सम्भावना करिब करिब शून्य नै छ । तर सामान आयातकर्ताले भन्सारका कर्मचारीलाई उन्मुक्ति हुने गरी बयान दिएका कारण ऊनीहरूमाथि थप अनुसन्धान वा कारबाही हुने सम्भावना कमजोर बनेको छ । भन्सार एजेन्ट, कर्मचारी र व्यापारीको मिलेमतोमा हुने राजश्व चुहावटमा भविष्यमा समेत असर पर्ने भएकाले वास्तविक आयातकर्ताको सेटिङमा भन्सारका कर्मचारीलाई उन्मुक्ति दिने गरी बयान आएको राजश्व अनुसन्धान विभागको बुझाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया