काठमाडौं । गत अगस्ट २४ मा अमेरिकामा भएको नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबी साहसँग दश लाख डलर धरौटी माग भएको छ । अमेरिकाको ह्युस्टनस्थित अदालतमा भएको सुनवाइ पश्चात् उनीसँग सो धरौटी रकम माग गरिएको हो ।
मुनाको उनी बस्दै आएको अपार्टमेन्टमा गोली हानी हत्या गरिएको थियो । हत्या अभियोगमा हाल ह्यारिस काउन्टी जेलमा रहेका साहलाई घटनाको केही दिनमै स्थानीय प्रहरीले पक्रेको थियो । ५१ वर्षीय साह मुनाको अपार्टमेन्टमा गएको तस्बिर प्रहरीले सार्वजनिक गरेपछि प्राप्त सूचनाका आधारमा ट्राफिकमा रोकिएको अवस्थामा उनलाई पक्राउ गरिएको थियो ।
साह मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको थियो । लुटपाटको उद्देश्यले मुनाको अपार्टमेन्टमा पुगेका साहले सोही क्रममा गोली हानेर हत्या गरेका थिए । नेप्लिज एसोसिएसन अफ ह्युस्टनका सल्लाहकार द्रोण गौतमका अनुसार १० लाख डलर धरौटी राख्न सकेमा अभियुक्त साहले जेल बाहिर बसेर मुद्दा लड्न सक्नेछन् । नेपालको भोजपुरकी २१ वर्षीय मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । मुनाको मावलीघर भोजपुरको साल्पासिलिछो–३ चौकी डाँडा हो ।
उनको घर सङ्खुवासभाको खाँदबारी नगरपालिका– २ चेवामा छ । मुना पाण्डेको हत्यापश्चात् ह्युस्टनको नेपाली समुदायले स्थानीय प्रहरी, मिडियालगायत उनकी आमा अनिता सहित परिवारका सदस्यहरूसँग समेत आवश्यक समन्वय गरेको थियो भने मुनाको अन्त्येष्टि र आमाको सहयोगका लागि करिब ४० हजार डलर सहयोग संकलन गर्न समेत सघाएको थियो । उनकी आमा अनिता अहिले पनि अमेरिकामै छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया