रोमाञ्चक खेलमा कर्णाली याक्सको पहिलो जित

लोकपथ
217
Shares

काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । आज शुक्रबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै एनपीएलमा पहिलो जित निकालेको हो ।

एनपीएलको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेट र दोस्रो खेलमा काठमाण्डु गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो । चितवन राइनोजको भने यो पहिलो हार हो । चितवन राइनोजले पहिलो खेलमा काठमाण्डु गुर्खाजलाई ५ विकेटले र दोस्रो खेलमा पोखरालाई ८७ रनले हराएको थियो । चितवनले दिएको १ सय ३१ रनको लक्ष्य कर्णालीले १ बल अगावै ४ विकेटको क्षतिमा भेट्टाएर जीत हासिल गरेको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको थियो । कर्णाली याक्सका लागि प्रभावशाली ब्याट्सम्यान शिखर धवनले ४५ रनको योगदान गरे ।

पहिलो विकेटका लागि ओपनर शिखर धवन र देव खनालले ९.५ ओभरमा ५३ रनको साझेदारी गरे। ३४ बलमा १ चौका र १ छक्का हानेका देव खनाल २५ रन बनाउँदा चितवनका कप्तान कुशल मल्लको बलमा एलबीडब्लु धरापमा परे । दोस्रो विकेटका लागि धवन र चान्डविक वाल्टनले ५१ रनको साझेदारी गरे । ४१ बलमा ४ चौका र १ छक्का हानेका धवन ४५ रन बनाउँदा जान निकोल लफ्टी इटोनको बलमा कट एण्ड बोल्ड भए । चान्डविक वाल्टन १९ बलमा ३ छक्कमा सहयोमा ३० रन बनाउँदा रवि बोपाराको बलमा एलबीडब्लु धरापमा परे । अर्जुन घर्ती ११ रनमा रनआउट भए । जिसन मक्सुद १२ र गुल्सन झा शुन्य रनमा नटआउट रहे । चितवनका लागि कुशल मल्ल, लफ्टी इटोन र रवि बोपाराले समान एक विकेट लिए । चितवनका लागि भने रवी बोपाराले अर्धशतक प्रहार गरेका थिए ।

उनले नटआउट ५९ रन जोड्ने क्रममा ४० बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै, कुशल मल्लले २३ रनको योगदान दिए । उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडेका थिए । त्यसअघि चितवनले पावरप्लेमा आफ्नो तीन विकेट गुमाएको थियो । ओपनर लुक बेन्केस्टाइनलाई पहिलो ओभरको पाँचौ बलमा कर्णालीका कप्तान सोमपाल कामीले शून्यमा बोल्ड गरे । अर्का ओपनर दीपक बोहरा चौथो ओभरमा नन्दन यादवको बलमा देव खनालबाट ८ रनमै क्याच भएका थिए ।

पावरप्लेको अन्तिम ओभरमा विपिन रावल ११ रनमा जिशन मक्सुदबाट बोल्ड भएका थिए यस्त, १७औं ओभरमा विपिन शर्माको एलबीडब्लूको धरापमा पर्नुअघि लोफ्टी इटनले ९ रन जोडेका थिए । शरद भेषावकर ६ रनमा नटआउट रहे । बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिएका थिए । । जिशन मक्सुदले दुई, कप्तान सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?