काठमाडौं । पर्यटन क्षेत्रमा क्रियाशील महिला पर्यटन व्यवसायीहरूको छाता संस्था टुरिजम सिस्टरहुड नेपाल एसोसिएसन (टिएसएनए) को अध्यक्षमा जुनु मलेकु चयन भएकी छिन् । शुक्रवार भएको संस्थाको छैटौँ वार्षिक साधारण सभाले मलेकु नेतृत्वको कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो ।
एसोसिएसनको उपाध्यक्षमा रोजिना रञ्जित, महासचिवमा पवना श्रेष्ठ, सचिवमा बेन्जु मुखिया श्रेष्ठ, र कोषाध्यक्षमा केबिना पाल अधिकारी सर्वसम्मत चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा प्रज्ञा शर्मा, सुचिता जोशी, हेमा श्रीपाली र युविका भण्डारी चयन भएका छन् ।
पर्यटन क्षेत्रमा क्रियाशील महिला उद्यमीहरूको संस्था टिएसएनए महिला उद्यमशीलता विकास, सिप विकास, तालिम प्रदान, डिजिटल मार्केटिङमा सहजीकरण तथा नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धन लगायतका क्षेत्रमा काम गरिरहेको छ ।
अध्यक्षमा सर्वसम्मत चयन भएसँगै मलेकुले आफ्नो कार्यकालमा महिला उद्यमी र पर्यटन क्षेत्रको विकासका लागि लागिपर्ने बताइन् । क्याथे प्यासिफिक एयरलाइन्सको कन्ट्री हेडको रहेकी मलेकुले पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढाउनसमेत आफू लागि पर्ने बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सिइओ) दीपकराज जोशीले योजनाबद्धरुपले नेपालको पर्यटन विकासमा सबै सङ्घसंस्थाले काम गर्नुपर्ने बताए ।
त्यसै गरी नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले सरकारले नयाँ पर्यटन नीति बनाउन लागेको पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिमा आवश्यक सुझावहरू दिनसमेत आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया