‘गोरखापत्र दाइ’ अर्थात् ‘मर्निङ अलार्म

‘गोरखापत्र दाइ’ काठमाडौं शहरका केही बस्तीका लागि ‘मर्निङ अलार्म’ बनेको वर्षौं भइसकेको छ

उहिले गाउँघरतिर भाले (कुखुरा) बासेपछि झिसमिसे भयो भनेर थाहा पाएर ओछ्यान छाड्ने गरिन्थ्यो । शहरतिर मोबाइल तथा घडीमा ‘अलार्म’ लगाएर बिहानीसँगै दैनिक कर्ममा जुट्ने मानिस प्रशस्त हुन्छन् । काठमाडौंका केही भागमा भने ‘गोरखापत्र दाइ’लाई कतिपयले ‘मर्निङ अलार्म’ मानेर आफ्नो दैनिकीको सुरुवात गर्दछन् ।

‘गोरखापत्र दाइ’ अर्थात् कुमार विष्ट काठमाडौं शहरका केही बस्तीका लागि ‘मर्निङ अलार्म’ बनेको वर्षौं भइसकेको छ । उनकै माध्यमबाट कतिपयले ओछ्यान छाडेर बिहानीको स्वागत गर्दै ‘मर्निङ वाक’मा निस्कनेलगायत आफ्नौ दैनिक कृयाकलापको सुरुवात गर्दछन् ।

पेसाले पत्रिका डेलिभरी अर्थात् ग्राहकका घर–घरमा अखबार पु-याउने काम गर्दै आएका उनले गल्ली–गल्लीमा बजाउँदै हिँड्ने गीत नै स्थानीयवासीका लागि बिहानीको सूचक अर्थात् ‘मर्निङ अलार्म’ बनेको वर्षौं भयो ।

गोरखापत्र यात्रा
आर्थिक उन्नतिका लागि २०४२ सालतिरै नुवाकोटबाट काठमाडौं आएका कुमार विष्टले पत्रिका ‘डेलिभरी म्यान’को काम गर्दै आएका छन् । हरेक बिहान शहरलाई ब्युँझाउँदै हिँड्ने उनको खासियत हो– पकेट स्पिकर र सानो मेमोरी कार्ड । घरघरमा पत्रिका पु-याउने क्रममा उनी आफूसँग रहेको मेमोरी कार्डमा भएका गीत बजाउँदै हिँड्छन् ।

उनले ओछ्यानबाट बिहानी देख्न नपाएको चार दशक हुनै लाग्यो । उनी भन्छन्, ‘बिहानीको लाली आफ्नो कोठाको झ्यालमा परेको देख्न नपाएको ३६ वर्ष भएछ ।’

झ्यालमा उज्यालो पर्नुभन्दा ३ घण्टा अगावै उनले निन्द्रा त्याग्नुपर्छ । हरेक बिहान साढे २ बजे मोबाइलमा अलार्म लाग्छ विष्टको । उनी साढे २ देखि ३ बजेभित्र अनिवार्य उठिसक्नुपर्छ । हरेक बिहान ३ बजेबाट सुरु हुने उनको दैनिकीमा आजभोली केही परिवर्तन भएको छ । बिहान ४ बजे न्यूरोडस्थित गोरखापत्र संस्थानको कार्यालयमा हाजिर गरेर सुरु हुने उनको दैनिकी अहिले भने गोंगवु चोकबाट सुरु हुन्छ । गतवर्ष मात्रै अवकास पाएपछि उनी अहिले गोरखापत्र संस्थान पुग्न पर्दैैन । सम्पर्क व्यक्तिले गोंगवु चोकमा उनले बाड्नुपर्ने पत्रिका ल्याइदिन्छन् अनि पत्रपत्रिकाको बिटा बोकेर शहर ब्युँझाउँदै उनी टोलटोलमा फन्का लगाउँछन् ।

उनी भन्छन्, ‘शहरमा के के न हुन्छ भनेर आएको पनि ३९ वर्ष भएछ । जीवनमा खान लाउन पुगेकै छ । त्यो बाहेक सानो घडेरी जोडेको छु । अरु त के गर्नु छ र !’ ठूलो केही उद्देश्य छैन विष्टसँग, मात्र सहज रुपमा जीवन चलोस्, जहान परिवारलाई दुई छाक खान कष्ट नहोस् ।

हरेक दिन बिहानको ४ बजे न्यूरोडबाट गोरखापत्र, राइजिङ नेपाल अनि मधुपर्कलगायतका पत्रपत्रिकाको चाङ बोकेर सामाखुसी, गोंगबुदेखि मनमैजुका लागि घुइँकिने विष्ट आजभोली गोंगवु चोकबाट पत्रपत्रिका बाड्न थाल्छन् । गोरखापत्र संस्थानकै प्रकाशनहरु वितरणमा लागेकै कारण कतिपयले उनलाई ‘गोरखापत्र दाइ’ भनेर पनि चिन्छन् ।

बिहान ४ बजेबाट ७ बजेसम्म पत्रपत्रिका घरघरमा पु-याउनु अनि दिउँसो बचेको समयमा अन्य काम गर्नमै व्यस्त छ विष्टको जीवन । गोरखापत्र दाइले अवकास पाइसके तर पनि पत्रिका बाँड्न भने छाडेका छैनन् । उनी मुस्कुराउँदै भन्छन्, ‘मलाई त मेरो काम नै यहि पत्रिका बाड्ने हो जस्तो लाग्छ । छोड्न नै सकेको छैन ।’

धेरै कमाउने, राम्रो लगाउने टाँठबाँठले हिड्ने रहर छैन उनमा । योग्यता र क्षमताअनुसारको काम पाएका छन् । खान लाउन पुगेकै छ । यसमै सन्तोष मानेर होला, उनी भन्छन्, ‘यति भए पुग्छ ।’

सुरुमा काठमाडौंमै व्यापार गर्न चाहन्थे उनी । त्यसैले सुरुवाती तीन वर्षसम्म खासाबाट सामान ल्याएर बेच्ने काम गरे । दुःख धेरै, कमाई त्यति नभएर हैरानी व्यहोरिरहेको बेला विष्टले गोरखापत्र संस्थानमा पियनका लागि कर्मचारी आह्वान भएको थाहा पाए । फारम भरे । पञ्चायतको समय । गाउँका प्रधानपञ्चलाई गोरखापत्र संस्थानमा फारम भरेको जानकारी गराए । गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक (जीएम) श्रीशमशेर जबरासँग प्रधानपञ्चको चिनजान रहेछ । प्रधानपञ्चले मेरो मान्छे हो भनेर चिनाइदिएपछि विष्टको जागिर पक्काजस्तै भयो । साइकल चलाउन जानेका उनले तत्कालै पत्रिका बाँड्ने काम पाइहाले ।

२०४५ सालमा गोरखापत्र संस्थानमा ६ महिनाको करारमा छिरेका विष्टको ६ महिनापछि फेरि ३ महिनाको करार थपियो । २०४६ सालमा भने उनी स्थायी भए । ५ कक्षासम्म पढेका उनले पढाइलाई खासै चासो दिएनन् । घरपरिवारमा पनि पढेलेखेका कोही थिएन, कसैलाई पनि पढ्नुपर्छ भन्ने नै भएन । त्यसैले, उनले पनि पढाइलाई महत्व नै दिएनन् । भन्छन्, ‘आफू पढेको भएको भए पो पढ भन्थे होला । अहिलेको जस्तो समाज थिएन त्यतिबेला । सानैमा विवाह भयो । छोरी पनि भइन् । २५ वर्षकै उमेरमा श्रीमती र छोरी लिएर काठमाडौं आएको थिएँ ।’

महिनाको ६४० रुपैयाँ तलबबाट सुरु भएको विष्टको गोरखापत्रको जागिर ४० हजारसम्म पुग्यो । समय मिलाएर दिउँसोमा पनि काम गरेर अलिअलि जोगाउन थाले विष्टले । त्यो बेला ६४० रुपैयाँको महत्व अहिलेको ४० हजारको भन्दा ज्यादा थियो । सम्झिन्छन्, ‘अहिले जति भए पनि पुग्दैन । महँगाईले छोइसक्नु छैन । ६४० रुपैयाँ तलब हुँदा जाहान परिवार सजिलै चल्थ्यो ।’

महिनाको ६४० रुपैयाँ तलबबाट सुरु भएको विष्टको गोरखापत्रको जागिर ४० हजारसम्म पुग्यो । समय मिलाएर दिउँसोमा पनि काम गरेर अलिअलि जोगाउन थाले विष्टले । त्यो बेला ६४० रुपैयाँको महत्व अहिलेको ४० हजारको भन्दा ज्यादा थियो । सम्झिन्छन्, ‘अहिले जति भए पनि पुग्दैन । महँगाईले छोइसक्नु छैन । ६४० रुपैयाँ तलब हुँदा जाहान परिवार सजिलै चल्थ्यो ।’

गोरखापत्रको महत्व निकै थियो त्यतिबेला । एसएलसीको रिजल्ट आउने दिन त पत्रिकाको कार्यालय बाहिर पत्रिका लिन हजारौंको भिड लाग्ने र त्यो छिचोल्न हम्मेहम्मे पर्थ्यो रे । उनी त्यो दिन पत्रिका पुर्याउन जानै नसकेको अनुभव सुनाउँछन् । आजभोलि प्रविधिले हातहातमा विश्व नै पुर्याइदिएको छ । तर, पनि पत्रिका भने उत्तिकै संख्यामा पुर्याउने गरेको उनी बताउँछन् ।

साइकलको घण्टी र गीत बज्ने मोबाइल
पहिला काठमाडौंमा त्यति भिडभाड थिएन । साइकलबाट पत्रिका बाँड्न भ्याउँथे विष्टले । साइकलबाट घरघरमा पत्रिका पुर्याउने विष्टले २०७३ सालमा आएर मात्रै मोटरसाइकल किने । अँध्यारैमा पत्रिका पुर्याउन हिँड्दा साइकलको घण्टी बजाउँदै हिँड्ने गरेको पनि उनले सुनाए । मर्निङ वाक गर्नेहरु फाट्टफुट्ट बाटोतिर हुने भए पनि अँध्यारै हुँदा कुकुर भुक्ने र कुकुरले लखट्ने गर्दथ्यो । राति कुकुरले दुःख दिएको घटना सुनाउँदै उनले भने, ‘बालाजु बस्थेँ, साइकल लिएर आउँदा बालाजु पुल आइपुगेपछि ५/६ वटा मसाने कुकुरले लखट्यो । विष्णुमती खोलामा बस्ने भएर ती कुकुरलाई मसाने कुकुर भन्थे । रातको समयमा एक्लै भेट्यो भने कुकुरले ज्यानै लिन्छ भन्ने सुनेको थिएँ । त्यो सम्झेर डर लागेर साइकल दौडाउँदा खाल्डोमा परेर चोट नै लागेको थियो । अहिले त निकै सहज भएको छ नि ।’

कुकुरबाट बच्न साइकलको घण्टी बजाउँदै हिँड्ने विष्टले गीत बजाउन मिल्ने मोबाइल किने । मेमोरी कार्डमा गीत भरेर मोबाइलमा गीत बजाउँदै हिँड्न थालेपछि भने उनलाई डर लाग्न छाड्यो । बिहानी पख आफूलाई मन पर्ने गीतहरु बजाउँदै पत्रिका पुर्याउन हिँड्दा खुव रमाइलो लाग्न थाल्यो उनलाई । बिस्तारै आफ्नो काममा पनि खुब मजा आउन थाल्यो रे विष्टलाई ।
गोरखापत्र दाइलाई नेपाली लोकसंगीत खुब मनपर्दो रहेछ । राष्ट्रिय, आधुनिक गीतसंगीत पनि उनलाई खुब मनपर्छ रे ।

कहिलेकाहीँ बिहानबिहानै नारायण गोपालका विरह लाग्दा गीत बजाउँदै पनि हिँड्छन् उनी । बिहानीको समय उर्जावान बनोस् भनेर उनी प्रायःजसो लोकगीत र राष्ट्रिय गीत घन्काउँदै पत्रिका पुर्याउने गरेको बताउँछन् ।

‘गीतसंगीतको नसा नै छ मलाई,’ उनी भन्छन्, ‘गीत नबजाउने हो भने के नभएको के नभएकोजस्तो, तरकारीमा नुन नहालेजस्तो लाग्छ । गीत बजाउँदै हिँड्दा डर पनि नहुने र रमाइलो पनि हुन्छ । कहिलेकाहीँ त दिउँसो पनि बजाउँछु ।’

नयाँनयाँ प्रविधि बजारमा आए । गोरखापत्र दाइले पनि एउटा स्पिकर किने । स्पिकरमा सिधै गीत लोड गरिएका मेमोरी राख्न मिल्छ । पत्रपत्रिकाको चाङमाथि स्पिकर राखेर उनी बजाउँदै घरघर डुल्छन् । पत्रिका पुर्याउने एरियाका बासिन्दाले पनि गोरखापत्र आएको जनाउ उनको गीतबाट थाहा पाउँछन् ।

गोरखापत्र आएपछि उठेर मर्निङ वाकमा निस्किने धेरै छन् । कतिले त उनलाई गीत बजाउँदै हिँड्दा रमाइलो लाग्ने प्रतिक्रिया पनि दिए भने कतिले झर्को माने । झर्को मान्नेहरुको घर नजिक पुग्दा उनी गीत बन्द गर्छन् । अनि अलि पर पुगेपछि पुनः बजाउँछन् । विष्टले काठमाडौं सामाखुसीको रेडन कलेज क्षेत्रबाट पत्रिका बाँड्न सुरु गर्छन् र गोंगबु हुँदै मनमैजुको लालीगुँरास स्कुलमा पुगेर उनको काम सकिन्छ ।

६ महिना बजेन गीत !
आफ्नो योग्यता र क्षमताअनुसारको खुसी पाइरहेको बेला गोरखापत्र दाइको जीवनमा अचानक ठूलो बज्रपात भयो । २०७५ सालमा २५ वर्षको जवान छोराले यो संसार छाडे ।

आँखाभरी आँशु लिएर भक्कानिँदै उनी भन्छन्, ‘समयमा उपचार नपाउँदा छोरोको ज्यान गयो ।’ अव्यवस्था र बेथितिको चाङका समाचार बोकेर हिँड्ने गोरखापत्र दाइको छोराको ज्यान त्यही बेथितिले भरिएको अस्पतालका कारण गयो ।

आँखाभरी आँशु लिएर भक्कानिँदै उनी भन्छन्, ‘समयमा उपचार नपाउँदा छोरोको ज्यान गयो ।’ अव्यवस्था र बेथितिको चाङका समाचार बोकेर हिँड्ने गोरखापत्र दाइको छोराको ज्यान त्यही बेथितिले भरिएको अस्पतालका कारण गयो ।

२०७५ सालको कुरा हो चिकित्सकहरु हड्तालमा थिए । ‘जनताको जीवनसँग जोडिएको अस्पताल जस्तो क्षेत्रमा पनि हड्ताल हुने रहेछ,’ उनी त्यो दिन सम्झिँदै भन्छन्, ‘छोरोलाई टाउको दुख्ने, ज्वरो आउने भयो । मेडिकलमा देखाएर औषधि खान दियौं । एक्कासी छोरो ओछ्यानबाट उठ्न नसक्ने भयो । सास फेर्न गाह्रो भएको रहेछ । त्यसपछि टिचिङ अस्पताल लगियो । अस्पतालमा डाक्टरहरुको हड्ताल रहेछ । छोरोको निमोनियाले फोक्सो खराब भैसकेको रहेछ । टिचिङमा सुत्ने बेडसम्म पनि पाइएन । इमर्जेन्सीमा पल्टनेसम्म ठाउँ थिएन । छोरोलाई निकै गाह्रो भयो अनि घरमै फिर्ता लिएर आयौं ।’

टिचिङकै कारण विष्टका छोराले आफ्नो पूरा जीवन बाँच्ने अधिकारबाट बञ्चित हुनुपर्यो । ‘हरेक क्षेत्रमा हुने बन्द हड्तालले आखिर गरिवको दैलो हान्ने रहेछ,’ विष्ट भक्कानिन्छन्, ‘राम्रै चल्दै थियो, आफ्नो योग्यता र क्षमताअनुसार जीवन खुसीका साथ चलिरहेको थियो तर अचानक के भयो–भयो, दिन लाग्यो भन्न पर्यो ।’

उनी अगाडि भन्छन्, ‘टिचिङबाट छोरोलाई घरमा ल्याएपछि झनै च्याप्यो । ठमेलकै मनमोहन अस्पताल लगेँ, छोरोलाई निमोनियाले धेरै नै च्यापेको र आईसीयूमा राख्नुपर्ने भएकाले अर्को अस्पताल लैजानु भनेर डाक्टरहरुले भने । त्यसपछि त्यहाँबाट त्रिपुरेश्वरको ब्लु क्रस अस्पताल लगेँ । त्यहाँ २ रात राख्दा धेरै खर्च भयो । खर्च धान्न नसकेपछि जोरपाटी मेडिकल कलेजमा लगियो । त्यहाँ २ रात राखेपछि छोरोले संसार छोड्यो ।’

छोरोले छाडेर गएपछि गोरखापत्र दाइको मन खुसी छैन । ‘कसरी खुसी हुनु ? छोरोले छाडेर गएपछि श्रीमतीलाई पनि ठूलो पहाडले थिचेजस्तो भयो । काम गर्न सकिनन्,’ उनी भन्छन्, ‘६ महिना गीत बजाउन सकिनँ तर पछि मन भुलाउनकै लागि बजाउन थालेँ ।’

समयको हुरीले उनको खुसी चुँडिदियो । समयसमयमा मन निकै आत्तिने गरेको उनी बताउँछन् ।

उनका २ छोरी छन् । परिवारमा एसएलसी पास गर्ने कान्छी छोरीमात्रै हुन् । दुबई गएर ६ वर्ष जति काम गरेर फर्किएकी छोरीले नेपालमै व्यापार सुरु गरेर बाबुआमालाई अलिकति भएपनि खुसी दिएकी छिन् । छोरीको उन्नतिमा रमाएका छन् आजभोलि गोरखापत्र दाइ । उनी भन्छन्, ‘छोरो गुमाएपछि टुटेको मन छोरीहरु हेरेर सम्हालेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?