काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको भन्ने विषयमा सत्तापक्षकै सांसद अर्जुननरसिंह केसीले चासो देखाएका छन् ।
मंसिर १९ गते राति लामिछानेलाई रातको समयमा पोखरा लगिएको थियो । लामिछानेलाई भोलिपल्ट पोखरा लगिने भनिएकोमा त्यही दिन नै राति स्थल मार्गबाट पोखरा लगिएको भन्दै उनको दल रास्वपाले आपत्ति जनाएको छ ।
सो विषयमा प्रतिक्रिया दिँदै पूर्वमन्त्री समेत रहेका नेता केसीले संसदीय छानबिन समितिको सिफारिस र पीडितको उजुरीको आधारमा पक्राउ गरिएको भन्दैमा कुनै पनि अभियुक्तमाथि गलत व्यवहार गर्न नहुने बताए ।
साथै लामिछानेको विषयमा के भएको हो त्यसको निष्पक्ष छानबिन गरी त्यसबारे वास्तविकता सार्वजनिक गर्न माग समेत गरेका छन् ।
‘रवि लामिछाने उपरको छानबिन वा अनुसन्धान संसदीय समितिको सुझाव र पीडितहरूको आवाजको आधारमा भईरहेको हो भन्दैमा जुनसुकै अभियुक्तप्रति व्यवहार अपनाउँदा राज्यले विधिवत प्रक्रिया, सभ्यता र सुसंस्कार बिर्सन हुँदैन । त्यसकारण यसमा के भएको हो, निस्पक्ष, पारदर्शी र विधिसँगत प्रक्रियामा राज्य पुर्ण जिम्मेवार रहनु पर्छ र यस्मा सरकारले उत्तरदायित्व पूरा गरी वास्तविकताद्वारा जनतालाई विश्वास दिलाउनु जरुरी छ,’ उनले भने ।
यद्यपि जिल्ला प्रहरी कार्यालय चितवनले भने लामिछानेलाई कानुन बमोजिम नै सुरक्षाको प्रत्याभूति हुने किसिमबाट नै पोखरा पुर्याइएको जनाएको छ । भोलिपल्ट लैजाने भनिएकोमा बाह्य हुलहुज्जत र नाराबाजीका कारण स्वंय लामिछानेमाथि सुरक्षा चुनौती हुने भएका कारण उनलाई सोही दिन रातको समयमा नै पोखरा पुर्याइएको जनाएको छ ।
नेता केसीले सामाजिक सञ्जालमा लेख्दै लोकतान्त्रिक विधिको शासन र कानुनी राज्यमा अभियोग अनुसन्धान, पैरवी वा पुर्पक्षको क्रममा अभियुक्तउपर अपनाइने कारवाही मानवीय र प्राकृतिक न्याय र विधिको सर्व मान्य सिद्धान्तमा आधारित हुनुपर्ने बताए ।
‘लोकतान्त्रिक विधिको शासन र कानुनी राज्यमा अभियोग अनुसन्धान, पैरवी वा पुर्पक्षको क्रममा अभियुक्तउपर अपनाइने कारवाही मानवीय र प्राकृतिक न्याय र विधिको सर्व मान्य सिद्धान्तमा आधारित हुनुपर्छ, न कि प्रतिशोध वा बदला र स्वेच्छाचारी स्वभावको,’ उनले भनेका छन्, ‘अभियोगलाई न्यासंगत टुङ्गोमा पु¥याउने प्रक्रियामा बदलाको भावना, पक्षपात हो कि भन्ने अबिश्वासको भावना कहीं बाट पनि उत्पन्न हुनु प्रत्युत्पादक हुन्छ।विधिको शासन मानवताको उत्थान र न्यायपूर्ण समाजको स्थापनाको लागि हुन्छ र हुनुपर्छ ।’
यो पनि…
चितवनबाट रातारात पोखरा पुर्याइएपछि रविमाथि बढ्दै सहानुभूति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया