काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले चीन सरकारसँग भएको बीआरआई फ्रेमवर्कमा अनुदान नै प्राथमिकतामा परेको भन्दै खुसी व्यक्त गरेको छ ।
आज बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरुले भनेअनुसार नै अनुदान सम्झौताले प्राथमिकता पाएपछि खुसी व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला बीआरआईको फ्रेमवर्कमा अनुदान सम्झौतामा हस्ताक्षर गरिसकेका कारण कुनै दुविधा मान्नुपर्ने अवस्था नरहेको बताए ।
‘अनुदान सहयोग लिने हिजोको पनि हाम्रो निर्णय थियो र आज पनि हामी त्यही निर्णयमा कायम छौँ । नेपाल सरकारले चिनियाँ सरकारसँग जुन बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्यो त्यसले पनि अनुदानलाई निषेध होइन, अनुदानलाई नै महत्व दिएर शब्द दिएर प्रयोग भएको छ । त्यही अनुरुप हाम्रो सरकारका नेताहरु, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले पनि अनुदान सहयोग लिन्छौँ अरु सहयोग लिन सक्दैनौँ भनेर कुरा राखिसकेकोमा यसमा हामीले दुविधा नगरीकन यसमा हामीले अनुदान सहयोग नै कार्यान्वयन गर्ने हो । प्रधानमन्त्रीको पनि त्यही भनाइ छ हाम्रो पनि त्यही भनाइ रहेको छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि नेपाली कांग्रेसले बीआरआई अनुदानमा मात्रै स्वीकार गर्न सकिने अडान कायम गरेको थियो ।
त्यस्तै आजको बैठकले गण्डकी प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसबाट सुनिता थापालाई पठाउने निर्णय गरेको छ । यसअघि समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी विमला गौचनको निधन भएसँगै थापालाई क्रमसंख्या अनुसार पठाउने निर्णय गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया