मर्यादित महिनावारी दिवस: ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार, मर्यादित महिनावारी हो आधार’ भन्ने मूल नाराका साथ सम्पन्न

लोकपथ
154
Shares

काठमाडौं । ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार मर्यादित महिनावारी हो आधार’ भन्ने मूल नाराका साथ छैटौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस सम्पन्न भएको छ । दक्षिण गोर्लादिय मर्यादित महिनावारी सञ्जाल तथा राधा पौडेल फाउन्डेसनको नेतृत्वमा हाइब्रिड सम्मेलनको आयोजना गरी छैटौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको हो ।

लैङ्गिक समानता र प्रजनन स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै महिनावारीसँग सम्बन्धित सबै प्रकारका विभेद अन्त्य गर्नुपर्ने सन्देशसहित सम्मेलनको आयोजना भएको हो । ललितपुरस्थित होटेल हिमालयमा आयोजित हाइब्रिड सम्मेलनमा विश्वभरका एक सयभन्दा बढी भर्चुअल सहभागी र ७० जना प्रत्यक्ष रूपमा सहभागी थिए । 

कार्यक्रममा दक्षिण गोर्लादिय मर्यादित महिनावारी सञ्जाल र राधा पौडेल फाउन्डेसनका संस्थापक डा. राधा पौडेलले महिनावारी विभेदलाई आत्मसाथ नगर्दा प्रजनन स्वास्थ्य अधिकारको अर्थ नभएको बताइन् । मर्यादित महिनावारी दिवस अधिकारका रूपमा माग गर्न वा मर्यादित महिनावारीमा कुनै काम गर्नका लागि सबै भन्दा पहिले हामी र हामी बाचेको समाज वरपरको जटिल अभ्यास र महिनावारी विभेदका बारेमा बुझ्नु जरुरी रहेको बताइन् ।  गत महिना मात्र श्रीलङ्काको महिनावारी विभेद सम्बन्धी अनुसन्धान रिपोर्टको उदाहरण पेस गर्दै पौडेलले ८९ प्रतिशत पहिलो पटक महिनावारी हुँदा सात देखि ३० दिन घर बाहिर बस्ने गरेको तथ्य जानकारी गराइन् । ५८ प्रतिशतलाई पहिलो महिनावारी अघि महिनावारीको बारेमा केही थाहा नभएको अध्ययनले देखाएको छ ।

सम्मेलनमा ‘लैङ्गिक समानताका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार र मर्यादित महिनावारी – नीति संवाद’ विषयको छलफलमा नेपाल, अस्ट्रेलिया, पाकिस्तान र सुडानबाट प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

त्यसै गरी ‘मर्यादित महिनावारीको वकालतमा युवाहरूको संलग्नता’ विषयमा नेपाल, इन्डोनेसिया, श्रीलङ्का, र नाइजेरियाका युवाहरूको सशक्त उपस्थिति रहेको थियो।

सम्मेलनमा ‘सृष्टिको रगतको गाथा भाग २’ र गीत ‘मेरो शरीर मेरो अधिकार’ को विमोचन भयो । साथै, सामाजिक सञ्जाल चुनौती र भिडियो प्रतियोगिताका विजेता स्नेह झालाई सम्मान गरिएको थियो । अनुसन्धानमा प्रोत्साहन स्वरूप ‘मितेरी अलिना विकासात्मक अपाङ्गता अनुसन्धान अनुदान’ र ‘मितेरी सुधा–लाल मर्यादित महिनावारी अनुसन्धान अनुदान’ प्रदान गरियो।

कार्यक्रममा डब्लुडब्लुएफ नेपालका प्रतिनिधि घनश्याम गुरुङ, युगान्डाकी एलबीटी अधिकारकर्मी लेआ मुकोयालगायतका प्रतिनिधिले मर्यादित महिनावारीको महत्त्व र यसले लैङ्गिक समानता तथा स्वास्थ्य सेवाको पहुँचमा कसरी योगदान पुर्‍याउँछ भन्ने विषयमा आ–आफ्नो धारणा राखे ।

सम्मेलनमा १३० भन्दा बढी सदस्य संस्थाहरूको सहभागिता रहेको थियो । आगामी सम्मेलन अमेरिकाको बोस्टनमा आयोजना हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?