काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका अभियान संचालन गर्ने बताएका छन् ।
सोमबार ओलीको गृहजिल्ला झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गर्दै सो कुरा बताएका हुन् ।
उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने जनाए ।
‘देश बनाउन हामी सबै एकताबद्द हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेमा देश बन्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी विभिन्न पार्टीका हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईहरुको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईहरुको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’
कुल ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा न २,३ र ४ का छ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३जनसंख्या लाभान्वित हुनेछन् ।
कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयबासीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सघीय खानेपानीमन्त्री प्रदीप यादव, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलगायत उपस्थित रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया