काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले निरङ्कुश र अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।
अध्यक्ष प्रचण्डले सोमबार सामाजिक सञ्जाल फेसबुकमा अदालतबाट दोषी ठहर नभइसकेका व्यत्तिमाथि राज्यबाट भएको अलोकतान्त्रिक र अमानवीय व्यवहारको निन्दा गरेका छन् ।
उनले भनेका छन्, ‘अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।’
गत बुधबार लामिछानेलाई चितवनबाट रातारात पोखरा पुत्याएको सम्बन्धमा मानवअधिकार उल्लङ्घन गरिएको भन्दै पछिल्लो समय सरकारको आलोचना भइरहेको छ ।
यस घटनामा रविले आफू अस्वस्थ रहेको जानकारी गराउँदा पनि प्रहरीले नसुनेको र रातारात चितवनबाट पोखरा लगेको आपत्ति जनाएका छन् ।
यता राष्ट्रिय मानवअधिकार आयोगले लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनामा मानवअधिकार हनन भएको भन्दै प्रहरी प्रमुख वसन्त कुँवरलाई आयोगमा उपस्थित हुन भनेको थियो । तर, प्रमुख कुँवर मानवअधिकार आयोगको कार्यालयमा उपस्थित भएनन् ।
रवि लामिछानेलाई भने आज फेरी पोखराबाट काठमाडौं हुँदै विरगञ्ज लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया