काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको हो ।
कर्णाली याक्सका विलियम बोसिस्टोको घातक बलिङसामु पोखरा एभेन्जर्स निरीह बन्न पुग्यो । उनी जारी लिगमा एकै खेलमा सबैभन्दा बढी विकेट लिने पहिलो खेलाडी पनि बनेका छन् । बोसिस्टोले ४ ओभर बलिङ गर्दै मात्र २८ रन खर्चेर ६ विकेट लिए ।
यस्तै, विपिन, युनिस र कप्तान सोमपाल कामीले १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको पोखराको सुरुवात निकै राम्रो थियो । ओपनरद्वय दिनेश खरेल र आन्द्रियस गाउसले ३.५ ओभरमा ४६ रन जोडेका थिए ।
गाउस १२ बलमा २५ रन जोड्दै आउट हुँदा खरेल पनि १९ बलमा २६ रन जोडेर पभेलियन फर्किए । त्यसपछि भने पोखराको खेल बिग्रियो । रेमन राइफरले २६ बलमा २० तथा कप्तान कुशल भुर्तेलले ११ बलमा रन जोडे । मध्यक्रमका अन्य ब्याटर चल्न सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया