सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा दायर

लोकपथ
385
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय मोरङले उनीहरुमाथि बिहीबार दिउँसो जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो ।

मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन अभियोगमा सहकारी ऐन २०७४ को दफा १२२ अनुसार २६ जनालाई प्रतिवादी बनाइएको हो । मुद्दा दायर हुनेमा सहकारीका वर्तमान अध्यक्ष धनपालथान-४ घर भई विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका-२ का लक्ष्मण साह, सचिव धनपालथान-४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान-४ का शम्भुप्रसाद सिंह, सञ्चालक समिति सदस्य जहदा गाउँपालिका-४ का आमोद मण्डल, धनपालथान-४ का रोशन राजबंशी तथा धनपालथान-२ का जितमान ठाकुर, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजबंशी र अशोककुमार विश्वासलगायत छन् ।

लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला सो सहकारीको पूर्वसञ्चालक हुन् । सहकारीको अवस्था बिग्रँदै गएपछि उनले २०७८ साल माघ ५ गते सहकारीबाट राजीनामा दिएकी थिइन् । शिक्षण पेशामा संलग्न कोइरालालाई एमाले कार्यकर्ताले खोलेको सहकारीको सञ्चालकमा सांसद पोखरेलले नै राखेका थिए । सांसद पोखरेलको सल्लाहमा वर्तमान अध्यक्ष रौनियारले सहकारी सञ्चालन गर्ने गरेको उनी निकट स्रोत बताउँछ । तर पोखरेलले भने आफ्नी पत्नीलाई अध्यक्ष रौनियारले फसाएको दाबी गर्दै आएका छन् । सो सहकारी करिब डेढ वर्षदेखि बन्द छ । गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर प्रहरीले कागजात जफत गरेको थियो । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सो सहकारीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीको वासलात रिपोर्टमा भने १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?