राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

लोकपथ
77
Shares

काठमाडौं । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण सुरु गरेको छ । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई-पासपोर्ट वितरण सुरु गरेको हो ।

टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ ।  गत अगष्टमा लिस्बनमा सञ्चालित घुम्ती सेवा शिविरबाट राहदानी बनाउन आवेदन दिएका आवेदकहरुको तयार भएको राहदानी वितरण गर्न शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ । 

शिविरमा राहदानी लिने नेपालीको भीड लागेको छ । बिहीबार पहिलो दिन एक सय ४७ वटा ई-पासपोर्ट वितरण गरिएको टोलीले जनाएको छ । पोर्चुगलमा रहेका नेपालीको सहजताका लागि लिस्बनमै आएर राहदानी वितरण सुरु गरिएको राजदूत भट्टराईले बताए। छ दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट दुई हजार पाँच सय ५४ वटा ई-पासपोर्ट वितरण गरिने तयारी छ । 

‘हामीले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा राहदानी वितरणका लागि टोली पठाउने तयारी गरिरहेका थियौँ । युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्रीले पोर्चुगलमा तत्कालै राहदानी वितरणको व्यवस्था मिलाउन भन्नुभयो’, उनले भने, ‘मन्त्रीको निर्देशन बमोजिम हिजोदेखि लिस्बनमा राहदानी वितरण गर्न सुरु गरेका छौँ ।’ टोलीले आज र भोली दुई दिन राहदानी वितरणसहित अधिकृत वारेसनामा प्रमाणीकरणको सेवा प्रदान गर्ने उनले जानकारी दिए ।

राहदानी विभाग काठमाडौंबाट राहदानी तयार भएको इमेल प्राप्त गरेका सेवाग्राहीलाई समय तालिकाअनुसार शिविरमा आई राहदानी बुझ्न राजदूत भट्टराईले आग्रहसमेत गरे । 

राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले गत अगष्टमा राजधानी लिस्बनमा सञ्चालन गरेको ‘घुम्ती सेवा शिविर’ बाट ३ हजार आठ सय २९ नेपालीको ई-पासपोर्टका लागि जैविक तथ्यांक संकलन गरेको थियो । जसमा करिब नौ सय ४० वटा राहदानी पेरिसबाटै वितरण भइसकेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?