घनश्यामको प्रस्ताव : पार्टी निर्माणका लागि काठमाडौंमा ४६ हजार जनाको जनसभा गरौँ (पूर्णपाठ)

लोकपथ
147
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गत असारमा सम्पन्न महाधिवेशनपछि पार्टी कार्ययोजना बनाएर अघि बढ्न नसक्दाका परिणामहरु देखिन थालेको बताएका छन् ।

पार्टीको स्थायी कमिटी बैठकमा प्रस्ताव पेस गर्दै महासचिव भुसालले पार्टी नेतृत्वले त्यसलाई चिर्न नसकेका कारण निराशा, हताशा, अन्योल, पलायन, निष्क्रियताजस्ता प्रवृत्तिहरु देखिएको नेतृत्वले स्वीकार गरेर अघि बढ्नुपर्ने बताए । समयमा नै नेतादेखि कार्यकर्तापंक्तिको मनोभावना अनुसार काम हुन नसक्दा एमाले, माओवादी लगायतका दलहरुसँग मिल्न खोज्ने प्रवृत्ति बढेको बताउँदै पार्टी निर्माणको स्पष्ट राजनीतिक कार्ययोजनाले मात्रै यसलाई समाधान गर्न सक्ने बताए ।

‘महाधिवेशनपछि पार्टी जसरी अगाडि बढ्नु पथ्र्यो त्यो हुन सकेन । त्यसका लागि विभिन्न कारणहरु जिम्मेवार छन्, तर जेसुकै भए पनि त्यो कमजोरी नै हो । अहिले पार्टीमा अनेकौँ प्रकारका समस्या छन् । निराशा, हताशा, अन्योल, पलायन, निष्क्रियताजस्ता प्रवृत्तिहरु देखिएका छन् । जसले गर्दा कतिपयमा नेकपा एमालेसँग सामिप्यता खोज्ने, अरु कतिपयमा नेकपा माओवादीसँग नजिकिन खोज्ने र आमरुपमा अन्योलग्रस्त प्रवृत्तिहरु देखिएका छन् । पार्टी निर्माणको एउटा स्पष्ट राजनीतिक कार्ययोजनाले मात्रै यसलाई समाधान गर्न सक्छ,’ उनले भनेका छन् ।

त्यस्तै उनले विभिन्न बुँदामा पार्टी निर्माणका लागि विभिन्न सभासम्मेलनदेखि देशलाई जोड्ने जागरण अभियान गर्नुपर्ने बताए ।आन्दोलनबाट पार्टी निर्माणको रुपरेखा कोर्ने बताउँदै उनले अबको ४–५ महिनामा काठमाडौंमा सानदार जनप्रदर्शन गर्ने र त्यसमा युवा– विद्यार्थी र किसान–मजदुर–उद्योगीहरुलाई समेत एकैठाउँमा जोड्नुपर्ने बताए । काठमाडौं केन्द्रित आन्दोलन गर्ने र त्यसलाई बिदा गरेर अन्य दलहरुजस्तै बस्ने प्रवृत्तिको अन्त्यका लागि आफ्ना मागहरु स्थापित गर्नका लागि विभिन्न क्षेत्रका अगुवाहरुको समर्थन प्राप्त गर्ने गरी अघि बढ्नुपर्ने बताए।

‘अबको करिब ४/५ महिनामा हामीले काठमाडौंमा शानदार जनप्रदर्शन गर्नु पर्छ ।

जनप्रदर्शन युवा– विद्यार्थी र किसान–मजदुर–उद्योगी गरेर दुई वटा गर्नु उचित हुन्छ । परिस्थिति र सम्भाव्यता हेरेर सबैको फरक–फरक वा एउटै प्रदर्शन पनि गर्नु पर्ने हुन सक्छ,’ उनले भनेका छन्, ‘हाम्रो जनप्रदर्शन परम्परागतरुपमा काठमाडौंमा एउटा सभा गर्ने र विदा हुने खालको मात्रै हुने छैन । हामीले उठाएका मागहरुलाई तिनको औचित्य, ती विषयमा विगतका प्रयासहरु, अरु मुलुकसँग तुलनाआदि तथ्य–तथ्याङ्कमा तयार गरेर प्रदर्शन गर्ने, विभिन्न क्षेत्रका अगुवाहरुको समर्थन प्राप्त गर्ने र सरकारलाई ज्ञापनपत्र दिनेजस्ता क्रियाकलापहरु गरिनेछ ।’

उनका अनुसार सबै पक्षलाई समेट्ने गरी २० हजार युवा, १५ हजार विद्यार्थी, ५ हजार महिला, ३ हजार किसान, २ हजार मजदुर र १ हजार उद्योगी गरी ४६ हजार जनालाई एक ठाउँमा ल्याएर जनसभा गर्ने प्रस्ताव गरे ।

त्यस्तै उनले नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर बनेको अहिलेको सरकारबारे समेत समीक्षा गरेका छन् । नेकपा एमाले र कांग्रेसको वैचारिक धरातलबारे स्पष्ट पार्दै उनले सत्ताका लागि जेसुकै गर्न पनि तयार भएका नेताहरु सरकारमा रहेको आरोप लगाए ।

‘अहिले नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बनेको छ । ती पार्टी र खासगरी नेतृत्वका कारणले गर्दा यसले संकट दुश्चक्रलाई समाधान गर्न सक्दैन । संसदीय मूल्यका हिसाबले यिनीहरु दुई ठूला पार्टीहरु मिलेर बनेका छन्, विचारका हिसाबले समाजवादी र पुँजीवादी हुन्, राजनीतिक हिसाबले अदालतको परामादेशद्वारा सरकारमा पुर्‍याईको र सरकारबाट निकालिएको पार्टीहरु हुन्, प्रवृत्तिका हिसाबले सत्ताका लागि जेसुकै गर्न तयार नेताहरु हुन् । जसले गर्दा यिनीहरुबाट मुलुकका समस्याको समाधान हुने कुनै सम्भावना छैन,’ उनको प्रतिवेदनमा उल्लेख छ ।

उनले नेकपाको कम्युनिष्ट पार्टीको मिलान र फुटबारे चर्चा गर्दै ०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले कम्युनिष्ट आन्दोलनमा असाधारण सम्भावना अघि ल्याएको बताए । तर तत्कालीन अवस्थामा नेतृत्व तहका नेताहरुमा कम्युनिष्ट आन्दोलनको भविष्य भन्दा पनि ठूलो पार्टी बनाउने र सत्तामा राज गर्ने स्वार्थमा आधारित भएका कारण त्यसले परिणाम दिन नसकेको बताए ।

‘२०७४ को आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी एकठाउँमा आउनु,
संसदमा झण्डै दुई तिहाई सिट आउनु, पार्टी एकता हुनु र त्यस पार्टीले समाजवादी कार्यदिशा समात्नुले कम्युनिष्ट आन्दोलनमा असाधारण सम्भावना अगाडि ल्याएका थिए । तर कम्युनिष्ट आन्दोलनको भविष्यभन्दा ठूलो पार्टी बनाउने र सत्तामा राज गर्ने स्वार्थमा आधारित भएर गरिएको पार्टी एकताले परिणाम दिएन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?