काठमाडौंमा अङ्ग प्रत्यारोपण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

लोकपथ
21
Shares

काठमाडौं । काठमाडौंमा अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको सुरुवात भएको छ । शनिबार साँझ एभरेस्ट होटेलमा ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स, २०२४’ को औपचारिक उद्घाटन भएको हो । नेपालमा अङ्ग प्रत्यारोपण गर्ने संस्थाहरूको संयुक्त आयोजनामा शनिबारबाट ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स, २०२४’ सुरु भएको हो ।

‘विकासोन्मुख राष्ट्रहरूमा अङ्ग दानलाई प्रवद्र्धन गरौँ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा जापान, नेदरल्याण्ड, अमेरिका, बेलायत, भारत, नेपाललगायतका देशबाट प्रत्यारोपणको क्षेत्रमा संलग्न २६ वटा कार्यपत्र प्रस्तुतीकरण कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक समितिका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठले अङ्ग प्रत्यारोपणसम्बन्धी कार्य विश्वव्यापी स्वास्थ्य क्षेत्रमा चुनौती रहेकाले सम्मेलन महत्त्वपूर्ण हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मानव अङ्ग प्रत्यारोपणको नेपालले प्रगति गरेको भन्दै मानव अङ्ग प्रत्यारोपणमा काम गर्न सरकार सधैँ तत्पर रहेको बताए । आजभन्दा १६ वर्ष अगाडि नेपालमा मिर्गौला प्रत्यारोपण सेवा नभए पनि अहिले नेपालमै विज्ञ चिकित्सकको समूह रहेको भन्दै नेपालको प्रगति गर्व गर्न लायक रहेको बताए ।

साथै अङ्ग प्रत्यारोपण बिस्तारै देशको सातै प्रदेशमा बढाउँदै लैजाने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि रञ्जु झाले प्रत्यारोपण कानुन बिवतृतरुपमा तयार भएको भए तापनि जनचेतनाको अभावको कारण मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदान र अङ्ग प्रत्यारोपणले गति लिन नसकेको बताइन् । साथै कानुनमा कुनै जटिलता भए परिमार्जन गर्नका लागि आफूले सक्दो सहयोग गर्नेसमेत बताइन् । साथै प्रत्यारोपणसम्बन्धी समाजका सबै पक्ष एकीकृत भएपछि यसले गति लिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?