काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पहिलो मेयर प्रेमलाल (पीएल) सिंहको निधनमा शोक व्यक्त गर्दै तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
आज बसेको नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकले पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री समेत रहेका सिंहको निधनमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस १, २ र ३ गते पार्टीको झण्डा झुकाउने, भोलि केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरु बन्द रहने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिनेछ । त्यस्तै स्वर्गारोहणको १३ औँ दिनमा काठमाडौंमा शोक सभा आयोजना गर्ने निर्णय गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए ।
सिंहको गएराति १ बजे ८८ वर्षको उमेरमा चाक्सीबारीमा निधन भएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्याएका सिंहले लौहपुरुष गणेशमान सिंहको नजिक भएर काम गरेका थिए । सिंहकै पहलमा काठमाडौं
नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । त्यस्तै उनी काठमाडौं नगरपालिकाको पहिलो प्रमुख (मेयर) बनेका थिए ।
उनको आजै अन्त्येष्टी गरिनेछ । उनको निधनमा श्रद्धाञ्जलीका लागि सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया