काठमाडौं । पुस ५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा चौथो ‘नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी’ तथा ‘नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.), फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रालि तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इ.टि.एस.आइ.पी.एल.) को संयोजकत्वमा पुस ५ गतेदेखि ७ सम्म औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित मेला सञ्चालन हुन लागेको हो ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ८० भन्दा बढी नेपाली तथा विदेशी कम्पनीहरुको स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए । उनकाअनुसार नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि प्रदर्शनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको र यस क्षेत्रहरूबाट देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुने विश्वास प्रबन्ध निर्देशक भट्टराईको छ । स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउन सक्ने सम्भावना रहेको उनले बताए । साथै उनले नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कार, नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने माध्यम बन्ने बताए । प्रदर्शनीले नेपालमा गुणस्तरीय औषधि र स्वास्थ्य उद्योगको विकासलाई सक्षम बनाउन व्यापक स्थान प्रदान गर्ने उद्देश्यलाई सकार्दै मानिसहरूको स्वास्थ्य सेवा आवश्यकताहरूमा प्रतिष्पर्धात्मक रूपमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
प्रदर्शनीले विभिन्न देशका कम्पनीहरू र ब्राण्डहरूसहित बिजनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने आयोजकको विश्वास छ । यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाइमा लैजाने प्रबन्ध निर्देशक भट्टराईले बताए । अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न स्वास्थ्यसँग सम्बन्धित उद्योग, संघसंस्था लगायत अन्य सरोकारवालाहरुलाई समेटी गोष्ठी तथा सेमिनार कार्यक्रम आयोजना हुने आयोजकले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया