काठमाडौं । जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित पर्यटकीयस्थल हम्पालमा पदमार्ग निर्माण सुरु भएको छ । उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्पिक गन्तव्यका रूपमा विकास भएको हम्पालमा पदमार्ग निर्माण गर्न थालिएको हो ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा यस वर्ष झण्डै दुई किलोमिटर लामो पदमार्ग निर्माण हुने पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले जानकारी दिए । उनका अनुसार गत महिनादेखि सुरु भएको पदमार्ग निर्माण ६ महिनाभित्रमा सम्पन्न हुने छ ।
कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकसम्म १६ किलोमिटर लामो पदमार्ग निर्माण भइसकेको छ । बाँकी रहेको क्षेत्रमध्ये यस वर्ष दुई किलोमिटर पदमार्ग निर्माण गरिने भएको हो । योसँगै थप एक किलोमिटर पदमार्ग निर्माण गर्न सकेमा जलजलासम्म सिधा पदमार्गले जोडिने खड्काले जानकारी दिए । पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा ३० लाख विनियोजन भएको छ ।
तेह्र वर्षअघि पहिचान भएको नयाँ पुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला– कोखेडाँडा–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आए पनि हम्पाल क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माण बल्ल सुरु भएको स्थानीय होटल व्यवसायी टीका पुनले जानकारी दिए । पदमार्ग निर्माण भएपछि राति वा दिउँसो जुनसुकै समयमा पनि पदयात्रा गर्न सहज हुने उनले बताए । पदमार्ग निर्माणपछि विद्युतीकरण पनि आवश्यक पर्ने उनको भनाइ छ ।
जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सहयोगमा गत मङ्सिरमा जलजला र वाइफाइडाँडासम्म विद्युत् सुविधा विस्तार गरिसकिएको छ । अब पदमार्गमा रातिको समयमा हिँडडुल गर्न मिल्नेगरी विद्युतीकरण गर्नुपर्ने आवश्यकता रहेको पुनले बताए।
प्रदेश सरकारले पर्वतको हम्पाल, घोडेपानी नजिकै कास्की र म्याग्दीको सिमानामा पर्ने मुण्डेलाई पोखराको स्याटेलाइट गन्तव्य घोषणा गरेको छ । सडकका कारण छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा सहायक गन्तव्य पहिचान गरेर पर्यटकको बसाइ लम्ब्याउन सरकार तथा निजी क्षेत्रले सक्रियता देखाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया