चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स ‘क्वालिफायर टु’ मा

लोकपथ
126
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले पराजित गरेको छ ।

योसँगै कर्णाली याक्स एनपीएलको क्वालिफायर चरणमा प्रवेश गरेको छ । कर्णालीले अब फाइनल प्रवेशका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिचको खेलमा पराजित हुने टोलीसँग खेल्नेछ । कर्णाली याक्सले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाए । उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए । ओपनर विपिन रावल १८, लुक बेनकेन्सटाइन १६, कप्तान कुशल मल्ल २१, सन्तोष कार्की ८, सोहिल तानविर ४, अमर रौटेला ९ र रिजन ढकाल ७ रनमा आउट भए । शरद भेषवाकर १० रनमा अविजित रहे ।

बलिङमा कर्णालीका जिशन मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले र विपिन शर्माले एक विकेट लिए ।
यसअघि कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । कर्णाली याक्सका लागि जयकिशन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेका थिए ।

जयकिशन ५३ र विलियम ५२ रनमा बनाएर आउट भएका थिए । रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भएका थिए । चाडविक वाल्टन ४६ रनमा अविजित रहेका थिए । बलिङमा सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिएका थिए ।

यस खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग भोलि खेल्नेछ । आज हुने पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १ः०० बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?