त्रिविको जग्गा फिर्ता ल्याउने र संलग्नलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को हिनामिना भएको जग्गा विश्वविद्यालयको नाममा ल्याउने र त्यसमा संलग्नहरुलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार साँझ त्रिविको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको छ । शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले त्रिविको जग्गा तथा सम्पत्ति विश्वविद्यालयकै नाममा ल्याइने र संलग्नहरुलाई कारबाही गरिने बताए ।

‘त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ। त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन्,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले आयोगले अध्ययन गरेर नभ्याएका र नसकेका क्षेत्रलाई थप अध्ययन गर्ने समेत बताए । साथै आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयलाई थप अध्ययन गर्ने र हात हालेपछि उक्त विषयलाई टुंगोमा पुर्याएरै छाड्ने बताए ।

‘आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ। आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने छ,’ ओलीले भनेका छन् ।

०७६ सालमा बालुवाटारको जग्गा हिनामिना प्रकरणमा छानबिनका लागि शारदाप्रसाद त्रितालको अध्यक्षतामा समिति गठन भएको थियो । साथै बालुवाटार जग्गा प्रकरणमा सफलतापूर्वक काम सम्पन्न भएपछि त्रितालकै नेतृत्वमा त्रिविको जग्गा तथा सम्पत्ति छानबिनका लागि प्रतिवेदन तयार गर्न आयोग गठन गरिएको थियो ।

यो पनि

त्रिविको सम्पति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?