बालबालिकालाई मन्टेश्वरी शिक्षा : कति आवश्यक ?

इटालीमा सन् १९०७ मा सुरु भएको मन्टेश्वरी शिक्षा विधि सन् २००० पछि विश्वभर नै चर्चित बन्योे

काठमाडौं । साना बालबालिकाहरु २४ महिना पुग्दा नपुग्दै अभिभावकलाई हतारो हुन्छ कि आफ्ना बालबालिकालाई मन्टेश्वरी पठाउन । कामको ब्यस्तताका कारण बाध्यता वा रहरले अभिभावकहरु सानै उमेरमा बालबालिकालाई मन्टेश्वरीमा पुर्‍याउन उद्दत हुन्छन् ।

मन्टेश्वरीमा भर्ना गरिदिएपछि बालबालिकाहरु चनाखो हुने मात्रै होइन, तीक्ष्ण बुद्धी हुने लगायतका केही महत्वकांक्षी सोचसमेत अभिभावकमा पाउन सकिन्छ । के सानै उमेरका बालबालिकालाई मन्टेश्वरीमा लैजानु आवश्यक छ ? के साँच्चै मन्टेश्वरी शिक्षा आवश्यक छ ? आखिर के हो त मन्टेश्वरी शिक्षा र कस्ता छन् सम्भावना, समस्या र चुनौतीहरु । यस विषयमा हामीले नागार्जुनमा रहेको ट्रष्ट एण्ड केयर मन्टेश्वरीकी प्रिन्सिपल दिपा थापासँग कुराकानी गरेका छौँ । कुराकानीको सम्पादित अंश यस्तो छ ।

के हो मन्टेश्वरी शिक्षा ?

मन्टेश्वरी भनेको खासमा यो कुनै स्कुल होइन, बरु यो एउटा विचार वा दृष्टिकोण मात्रै हो । बालबालिकालाई भविष्यमा कसरी अगाडि बढाउने, उनीहरुको चाहना के छ र उनीहरुलाई कसरी सहज ढङ्गबाट सिकाउन सकिन्छ भनेर खेल्दै, खेलाउँदै सिकाउने र दैनिक जीवनका काम वा व्यवहारमा उनीहरुलाई अभ्यस्त पार्ने एउटा विधि मात्रै हो । यो विचार वा शैक्षिक विधिको प्रयोग गर्ने व्यक्ति इटालीका बाल्य चिकित्सक समेत रहेका मारिया मोन्टेश्वरी हुन् । बालबालिकाहरुले प्राकृतिकरुपमै खेल्दै सिक्ने शिक्षाको विकास मारिया मन्टेश्वरीले गरेको कारण यो शैक्षिक विधिको नाम नै मन्टेश्वरी भएको हो ।

इटालीमा सन् १९०७ मा सुरु भएको यो विधि सन् २००० पछि विश्वभर नै चर्चित बन्न थाल्यो । मन्टेश्वरीमा बालबालिको इच्छा चाहना अनुसार, उनीहरुको खुुसी अनुसार उनीहरुले हेरेर नयाँ नयाँ कुराहरु खेल्ने, हेर्ने र जान्ने विधि हुन्छ, जुन एक अनुशासनमा आधारित शिक्षा प्रणाली हो ।

इटालीमा सन् १९०७ मा सुरु भएको यो विधि सन् २००० पछि विश्वभर नै चर्चित बन्न थाल्यो । मन्टेश्वरीमा बालबालिको इच्छा चाहना अनुसार, उनीहरुको खुसी अनुसार उनीहरुले हेरेर नयाँ नयाँ कुराहरु खेल्ने, हेर्ने र जान्ने विधि हुन्छ, जुन एक अनुशासनमा आधारित शिक्षा प्रणाली हो । यो शिक्षा प्रणाली बालबालिकाको मनोविज्ञान बुझेर विभिन्न तरिकाले सिकाउने विधि हो । मन्टेश्वरी कक्षा विशेषतः ४८ देखि ६० महिनासम्मका बालबालिकालाई दिइन्छ ।

नेपालमा मन्टेश्वरी शिक्षाको विकास २०६९ सालबाट मात्रै सुरु भएको हो । यसका केही मापदण्ड पनि बनेका छन्, यद्यपि यो अहिलेसम्म स्वनियमनमै केन्द्रित छ । यस मापदण्डको प्रमुख उद्धेश्य कलिला बालबालिकाको स्याहार तथा सिकाइमा संलग्न अभिभावक, प्रारम्भिक बालविकास सम्बन्धी विज्ञ तथा सबै समुदायका सदस्यहरुका बीचमा यी बालबालिकाबाट के कस्ता जायज अपेक्षा गर्न सकिन्छ र ती कसरी पूरा गर्न सकिन्छ भन्ने बारे साझा छलफलका एउटा साधन पनि हो ।

बालबालिकामा किन आवश्यक छ मन्टेश्वरी शिक्षा ?

मन्टेश्वरीमा ६ वर्षसम्मका बालबालिकालाई शारीरिक, मानसिक प्रयोगात्मक कार्यमा संलग्नता गराई स्वतन्त्र वातावरणमा बालबालिकाको व्यक्तित्व विकासका क्रममा अति दक्ष शिक्षकको सहयोगमा दिइने शिक्षा नै मन्टेश्वरी शिक्षा हो ।

मन्टेश्वरी शिक्षाले बालबालिकामा आत्मविश्वास, आत्मसम्मान, स्वनिर्भरता, आत्मानुशासन, जिम्मेवारीबोध, सहयोगी भावना, धैर्य, इमान्दारी, आदरभावजस्ता आत्मिक आकार निर्धारण गर्न मद्दत गर्छ । परम्परागत विद्यालयमा भन्दा बढी विषयमा धारणासहित ज्ञान, सीप तथा प्रवृत्तिको विकास हुन्छ । यो विधि बालबालिकाको स्वाभाविक विकास, अनुभवजन्य सिकाइ र स्वतन्त्रतामा आधारित हुन्छ । यसका विशेषताहरु भनेका बालकेन्द्रित शिक्षा, बालबालिकाको रुचि र आवश्यकता अनुसार सिकाइ, बालबालिकाको आफ्नै गतिमा सिक्ने र सिकाउने एउटा थलो मात्रै हो ।

यद्यपि मन्टेश्वरी स्कुलमा व्यवस्थित वातावरण हुन्छ, मन्टेश्वरी कक्षाकोठा विशेष रूपमा डिजाइन गरिएका हुन्छन्, बालबालिकाले आफ्ना अनुभवबाट सिक्न सघाउने शैक्षिक सामग्रीहरु त्यहाँ राखिएका हुन्छन् ।

त्यसबाहेक बालबालिकाको व्यावहारिक जीवन सीप वा दैनिक जीवनका कार्यहरू जस्तो कि सरसफाइ गर्ने, बटन लगाउने, पानी खन्याउने लगायतका सामान्य कुराहरु पनि यहाँ मन्टेश्वरीमा सिकाइन्छ । यसले बालबालिकामा आत्मनिर्भरता र आत्मविश्वासको विकास गर्छ । यसको अर्को विशेषता भनेको स्वतन्त्रता र अनुशासन पनि हो । यो भनेको बालबालिकालाई सिकाइको प्रक्रिया स्वतन्त्र रूपमा रोज्न दिइन्छ यद्यपि उनीहरूको स्वतन्त्रतालाई मर्यादाभित्र राखिन्छ । त्यसबाहेक मन्टेश्वरीको अर्को महत्वपूर्ण पाटो भनेको अभ्यास र अनुभवजन्य सिकाइ हो । यसमा बालबालिकाले आफ्नै हातले गरेर सिक्छन् जसबाट यस्ता प्रयोगात्मक शिक्षाले अवधारणा बुझ्न सजिलो बनाउँछ ।

बालबालिकालाई मन्टेश्वरीमा भर्ना गर्नै पर्ने बाध्यकारी जस्तै हो ?

एक त अभिभावकको व्यस्तताको कारणले पनि मन्टेश्वरीमा भर्ना गर्ने गरिएको छ । अर्को २ देखि ६ वर्षको उमेर भनेको बालबालिकामा उत्सुकताको समय हो । यो समय बालबालिकाका लागि अति नै महत्वपूर्ण छ । बालबालिकाले आफैँ क्रियाकलापहरु गरेर, अरुसँग सोधेर, हेरेर आफूलाई मन पर्ने कुराहरू सचेतनात्मक किसिमले सिक्ने गर्दछन् । बालबालिकाले खेल, गीत, नाच, व्यायाम इत्यादिको सहयोगले पनि जीवनको लागि महत्वपूर्ण सकारात्मक परिवर्तन हुने खालका कुराहरू सिक्दछन् । यो समय भनेको बालबालिकालाई पढाउने वा घोकाउने समय होइन । यो समयमा बालबालिकालाई मनोरञ्जनात्क रुपमा खेलाउने प्रयोगात्मक रुपमा देखाउने गर्दा बालबालिकाको दिमागमा पछिसम्म रहिरहन्छ । कतिपयले त मन्टेश्वरी भनेको बच्चाहरुलाई खुवाउने र सुताउने ठाउँ हो पनि भन्छन्, तर यो गलत हो । बच्चाहरुले यो समयमा आफैँ सिक्ने, स्वयं निर्देशित सिकाइ, स्वतन्त्रतामा सीमितता, स्वतः स्फूर्त अनुशासित बालक र गुरुको आदर आदि धेरै विषयमा सिक्न सक्छन् । त्यसकारण सामान्यतः २ वर्षको समय मन्टेश्वरी शिक्षाका लागि राम्रो समय हो र यसले बालबालिकाको समग्र विकासलाई सहयोग पुराउँछ ।

केही त माथि पनि भन्नुभयो, मन्टेश्वरी शिक्षाको मुख्य उद्धेश्य अरु के के छन् त ?

मन्टेश्वरी कक्षा बालबालिकाको चौतर्फी विकासका लागि उपयुक्त स्थान हो । पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने स्थान हो । बालबालिकामा आत्मविश्वास जगाउनु, परिवर्तित समाज एवं अन्य व्यक्तिहरूप्रति सकारात्मक सोच विकास गर्नु, चुनौती, बाधा तथा सफलतामा संवेगात्मक सन्तुलन कायम गर्न मद्दत पुर्‍याउनुका साथै सामाजिक तथा व्यावहारिक मूल्य–मान्यताका आधारमा व्यावहारिक ज्ञान प्रदान गर्नु र असल नागरिक हुने आधारशिला खडा गर्नु मन्टेश्वरी शिक्षाको मूल उद्देश्य हो । विविध किसिमका मनोरञ्जक शिक्षण सिकाइलाई क्रियाकलापको माध्यमबाट बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई प्राथमिक विद्यालयका लागि तयार पार्नु पनि यसको उद्देश्य हो ।

मन्टेश्वरीमा राखिएका र नराखिएका बालबालिकामा कस्तो फरक हुन्छ ?

मन्टेश्वरीमा नराखिएका बालबालिका घरमा नै बस्ने हुन्छन्, जसले उनीहरुलाई बाहिरको वातावरणमा घुलिमल हुन दिँदैन । बालबालिका खुला वातावरणमा खेली–खेली पढ्ने, आफ्नो काम आफैँ गर्ने, जिज्ञासु, उत्सुक र कौतुहल हुनुपर्छ भनेर मन्टेश्वरीमा सिकाइन्छ । आफ्नै उमेर समूहका अन्य सदस्यसँग पनि खेल्दै सिक्ने भएकाले अनुकुलनको अवथा पनि ल्याउने भएकाले घरमा नै राखिएका र मन्टेश्वरीमा राखिएका बालबालिकामा धेरै कुराहरुमा भिन्नता रहेको देख्न सकिन्छ ।

अहिले मन्टेश्वरीलाई बाध्यकारी जस्तै बनाइएको छ, जहाँ हुँदा खाने र हुने खाने वर्गका बीचमा ठूलो खाडल बनाएको भन्छन् नि ?

मन्टेश्वरी शिक्षाका लागि महङ्गो सामान किनेर राख्नुपर्छ भन्ने पनि छैन । बालबालिकालाई प्राक्टिकल गर्नको लागि प्राकृतिक कुराहरु पनि प्रयोग गर्न सकिन्छ । अहिले मन्टेश्वरी शिक्षा व्यापारकै रुपमा अगाडि बढिरहेको छ । सञ्चालकदेखि अभिभावककै कारण पनि यो शिक्षा महङगो हुन थालेको हो । बालबालिकालाई व्यवहारिक ज्ञान दिनका लागि अभिभावकले महङ्गो सामान किनेर ल्याउने पनि गर्नुहुन्छ, जसका कारण यो शिक्षा केही महङ्गो बन्दै गएको छ । कतिपय अवस्थामा अन्य अभिभावक वा अन्य बालबालिकाको देखासिकी गर्ने व्यवहारका कारण पनि झनै महङ्गो सामान खरिद गर्ने गलत बानीले पनि यो बिस्तारै महङ्गो हुँदै गएको छ । यसलाई नियन्त्रण गर्नु जरुरी छ ।

तपाईँले पनि भनिसक्नु भयो कि मन्टेश्वरी महङ्गो भयो भनेर । अन्य अभिभावकको गुनासो पनि यस्तै छ । त्यसबाहेक कतिपय मन्टेश्वरीले न्युनतम मापदण्ड पालना भएन भन्ने गुनासो पनि छ नि ?

यस्तो कुरामा सरकारले पनि ध्यान दिन जरुरी हुन्छ । मन्टेश्वरीहरु के कसरी खुलिरहेका छन्, कसरी चलिरहेका छन्, त्यसको नियमन र नियन्त्रण गर्नु पर्छ । अहिले ठाउँठाउँमा मन्टेश्वरी खुलिरहेका छन् तर कहाँ कसरी कस्तो अवस्थामा खुलेका छन् भनेर हेर्ने कोही छैन । यस्ता कुरामा निगरानी हुनुपर्ने भएपनि केन्द्रीय सरकार वा स्थानीय सरकारले खासै निगरानी गरेको देखिँदैन, यसमा ध्यान दिनुपर्ने नै हुन्छ ।

अहिले ठाउँठाउँमा मन्टेश्वरी खुलिरहेका छन् तर कहाँ कसरी कस्तो अवस्थामा खुलेका छन् भनेर हेर्ने कोही छैन । यस्ता कुरामा निगरानी हुनुपर्ने भएपनि केन्द्रीय सरकार वा स्थानीय सरकारले खासै निगरानी गरेको देखिँदैन, यसमा ध्यान दिनुपर्ने नै हुन्छ ।

खासमा मन्टेश्वरीलाई व्यापार बनाउनु हुँदैन यद्यपि लागत खर्च त उठाउनै पर्छ । यसलाई व्यापार बनाउनेले कसरी सञ्चालन गरिरहेका छन्, त्यसको लेखाजोखा बिस्तारै हुँदै गर्ला तर खाजा खर्च, खाना खर्च, शिक्षक कर्मचारकिो तलब, विद्यालयको भाडा, ऋण भए त्यसको ब्याज आदि त उठाउनै पर्छ । यद्यपि यसका लागि सरकारले स्पष्ट मापदण्ड बनाएर शुल्कसमेत तोक्नु उत्तम हुन्छ ।

मन्टेश्वरीमा खानाका विषयमा बारम्बार गुनासो आइरहेका हुन्छन् । तपाइँहरुले बेलाबेलामा खानाको परीक्षण पनि गर्ने गराउनु भएको छ कि ?

साना बालबालिकाले खाने खाना भएकाले खानाका विषयमा हामी सँधै सचेत छौँ । हामीले दैनिकरुपमा गुणस्तर कायम गरिरहेका छौँ र बेलाबेलामा ल्याबमै लगेर पानी लगायतका पदार्थको परीक्षण गराइरहेका हुन्छौँ । हामी शिक्षक तथा कर्मचारी पनि यहीँ खाना खान्छौँ, अझ हामीले त अभिभावकलाई पनि बेलाबेलामा आएर खाना टेस्ट गर्न समेत भनेका छौँ । कहिलेकाहीँ अभिभावक पनि आएर खाना टेष्ट गर्नुहुन्छ । हाम्रो खानाबाट अभिभावक र बालबालिका सन्तुष्ट छन् ।

आफ्नो हेरचाह आफै गर्न नसक्ने बालबालिका मन्टेश्वरीमा भर्ना हुन भएकाले उनीहरुलाई सिकाउन वा खुसी बनाउन कत्तिको अप्ठ्यारो हुँदो रहेछ ?

यो चाहिँ एकदमै चुनौतीपूर्ण काम हो भने अर्को यो जस नपाउने काम पनि हो । बालबालिकालाई मन्टेश्वरीमा ल्याएर छोडेपछि सम्पूर्ण जिम्मेवारी हाम्रो नै हुनेगर्छ भन्ने उहाँहरुको सोच हुन्छ, त्यस विषयमा बेलाबेलामा अभिभावकलाई पनि कक्षा दिनुपर्ने हुन्छ । तपाइँका साना बालबालिका यस्तो हुनुहुन्छ, उहाँहरुलाई यसरी सिकाउनु पर्छ, तपाइँहरुले घरमा बालबालिकालाई यसरी सिकाउनुस् भनेर अभिभावकलाई भन्नु पर्ने हुन्छ । त्यसकारण बालबालिका मात्रै होइन, अभिभावकलाई पनि बेलाबेलामा कक्षा लिनुपर्ने, भन्नुपर्ने भएकाले यो काम केही जटिल नै हुन्छ, यद्यपि हामीलाई भने यही काममा रमाइलो लाग्छ ।

मन्टेश्वरी शिक्षा विधिलाई थप प्रभावकारी बनाउन के गर्नुपर्ला ?

मन्टेश्वरीलाई प्रभावकारी बनाउन सरकारी निकायबाट बेलाबेलामा निरीक्षण आउनु पर्छ । मन्टेश्वरी कसरी सञ्चालन भइरहेको छ भनेर सरकारी निकायले ध्यान दिनुपर्छ । अभिभावकले पनि आफ्नो बालबालिकाको पढाई कस्तो भइरहेको छ, त्यहाँ आफ्नो बालबालिका सुरक्षित छ कि छैन भनेर बेलाबेलामा बुझ्नु पर्दछ । अहिले मन्टेश्वरी धेरै ठाउँमा खुलेको छ, कतिपय ठाउँमा बालबालिकालाई दिनभरी मन्टेश्वरीमा लगेर खाना खुवाउने र सुताउने मात्रै गरेको पनि देखिन्छ । त्यसकारण त्यो मन्टेश्वरी नभएर बालबालिकाको डे केयर मात्रै हो । डे केयर र मन्टेश्वरीमा फरक छ तर कतिपय अभिभावकले डे केयर र मन्टेश्वरीलाई एउटै ठानिदिनुहुन्छ, त्यो गलत हो । मन्टेश्व्रीका नाममा खुलेका डे केयरका कारण अहिले वास्तविक मन्टेश्वरीलाई असर समेत गरिरहेको छ । यस्तो कार्यलाई रोक्न सरकारी निकायले ध्यान दिन सकेमा मन्टेश्वरी शिक्षा विधि थप प्रभावकारी बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?