हिरासतमा सुतिरहेको बेला कसले सार्वजनिक गर्‍यो रवि लामिछानेको तस्बिर ?

लोकपथ
518
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सुतिरहेको तस्बिर सार्वजनिक भएको छ ।

बुधबार राति रास्वपाका सह–कोषाध्यक्ष दीपक बोहोराले हिरासतमा रहेका लामिछानेको तस्बिर कसले सार्वजनिक गर्यो ? भन्दै प्रश्न गरे । सुतिरहेको अवस्थामा सीसीटिभी फुटेजबाट तस्बिर स्क्रिनसर्ट’ गरिएको भन्दै आपत्ति जनाए । उनले उक्त तस्बिर सार्वजनिक गरेपछि रविको सुरक्षासँग समेत जोडेर उक्त तस्बिरलाई रास्वपा र समर्थकहरुले आलोचना गरिरहेका छन् ।

‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसर्ट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला,’ उनले सामाजिक सञ्जालमा भनेका थिए ।

उक्त तस्बिर कास्की प्रहरीले नै सार्वजनिक गरेको भन्दै रास्वपा समर्थकहरुले शान्ति सुरक्षामाथि प्रश्न उठाइरहेका बेला आफूलाई अभियन्ता बताउने सामाजिक सञ्जालमा भाइरल डा. निकोलस भुसालले उक्त तस्बिर आफूले खिचेको बताएका छन् । उनले सोमबार नै उक्त तस्बिर सामाजिक सञ्जालमा राख्दै आन्दोलनका लािग आह्वान गरेका थिए ।

उनले सामाजिक सञ्जालमा लेख्दै आफूले उक्त तस्बिर खिचेको र आफूबाट गल्ती भएको भन्दै माफी समेत मागेका छन् । साथैआफूले उक्त फोटो सार्वजनिक गर्नुमा कुनै खराब नियत नभएको बताए ।

लामिछानेलाई भेट्न भुसाल गत शनिबार कास्की प्रहरी हिरासतमा पुगेका थिए । सोही क्रममा आफूले उक्त सीसीटिभीबाट उक्त तस्बिर खिचेको बताए ।

‘यो फोटो रियल हो मैले नै खिचेको हो गल्ती भको हो माफी चाहन्छु । म बाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गको थिएँ,’ उनले सामाजिक सञ्जालमा विषयको पटाक्षप गर्दै भनेका छन् ।

त्यस्तै उनले फेसबुक लाइभमार्फत् आफूले लामिछानेको स्वास्थ्य अवस्था बुझेपछि सीसीटिभीबाट उक्त तस्बिर लिएको बताएका छन् । साथै प्रहरी प्रशासनको नराम्रो प्रचार गर्न वा कुनै मनसाय नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?