रवि लामिछानेको हिरासतको तस्बिर सार्वजनिकबारे छानबिन गर्न प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन

लोकपथ
273
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको भनिएको विषयमा यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले बिहीबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जाल हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यसको यथार्थ छानबिन गर्न प्रहरीलाई निर्देश गरेको जनाएको छ । गृहमन्त्री लेखकले उक्त तस्बिरको विषयमा छानबिन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिए ।

‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आईजीपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भने, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दै छ ।’ त्यसै गरी प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले पनि तस्बिर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?