चुनौतीपूर्ण अवस्थामा बैंकिङ क्षेत्र, खराब कर्जा र तरलता बढ्दै जाँदा जोखिम भार पनि बढ्यो 

बैंकर्स संघका अध्यक्ष कोइराला भन्छन्–‘नेपालका बैंकहरु चुनौतीपूर्ण अवस्थामा रहे पनि समस्याहरूलाई चिरेर अघि बढ्नुपर्छ’

लोकपथ
133
Shares

पछिल्लो समय बैंकहरूमा देखिएको अधिक तरलता र वृद्धि भइरहेको खराब कर्जा व्यवस्थापन प्रमुख चुनौती बनेका छन् । ऋण असुलीमा पनि ठुलो चुनौती देखिएको छ । बैंकहरुले कर्जा असुली गर्न नसक्दा दिन प्रतिदिन बैंकहरूको खराब कर्जामा पनि वृद्धि हुने देखिएको छ । 

तीन चार वर्ष पहिला १ प्रतिशत रहेको बैंकहरूको एनपीए पछिल्लो समय अधिकांश बैंकहरूको ४ प्रतिशत माथि पुगेको छ । बैंकहरूमा एनपीए वृद्धि हुँदै जानु बैंकहरूको लागि ठुलो चुनौती हो । यसले अझ खराब कर्जा वृद्धि गर्ने, ऋण असुलीमा समस्या हुनसक्छ ।

अर्थतन्त्रको शिथिलता कम हुन नसक्दा बैंकिङ क्षेत्रमा समस्या झनै बढ्दो क्रममा देखिएको छ । निजी क्षेत्रको मनोबल बढ्न नसक्दा बैंकहरूले उठाएको कर्जा असुली गर्न सकिरहेका छैनन् । ब्याजदर निकै न्यून हुँदा पनि असुलीमा सुधार हुन सकेको छैन । निक्षेप बढ्दा कर्जाको माग न्यून छ । बैंकहरूमा विगतमा प्रवाह भएको कर्जाबाट नियमित सावाँ ब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको हो । 

बैंकहरूको निष्क्रिय कर्जा उच्च रूपमा बढ्दै जाँदा त्यसको असर गैर बैंकिङ सम्पत्तिमा परेको बैंकर्सहरूको भनाई छ । अर्थतन्त्रमा छाएको सङ्कुचनको असर बैंकहरूको रिकभरीमा पर्न सक्ने चिन्ता पनि उत्तिकै देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा ३.४० प्रतिशत रहेको छ ।

आर्थिक २०७९/८० को पहिलो त्रैमासमा बैंकहरूको औसत खराब कर्जा १. ६६ प्रतिशत रहेको थियो । गत वर्षको पहिलो त्रैमासको तुलनामा वाणिज्य बैंकहरूको खराब कर्जा १०३ प्रतिशतले बढेको देखिन्छ । 

७ खर्ब बढी लगानीयोग्य रकम तर बजारमा छैन कर्जाको माग 

कर्जाको ब्याजदर एकल बिन्दुमा झरे पनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कार्तिकसम्मको तथ्यांकअनुसार कर्जाको औसत ब्याजदर ९.०७ प्रतिशतमा झरेको छ । पछिल्लो समय बैंकहरुमा अधिक तरलता थुप्रिएको छ ब्याजदर पनि निरन्तर रूपमा घट्दो अवस्थामा छ । ब्याजदर जति घटे पनि अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग भने बढेको छैन । 

चालु आर्थिक वर्षको ५ महिनामा २ खर्ब पनि कर्जा लगानी हुन सकेको छैन । अहिले बैंकहरूमा ७ खर्ब बढीको लगानीयोग्य रकम छ । तर बजारमा कर्जाको माग छैन । बैंकहरूलाई यति बेला खराव कर्जा र अधिक तरलता दुवै व्यवस्थापन गर्न चुनौती देखिएको छ । बैंकहरूमा थुप्रिएर बसेको ७ खर्ब व्यवस्थापन गर्न नसके बैंकहरूमा समस्या आउन सक्ने बैंकरहरूले बताएका छन् । 

उनीहरूले नेपालको बैंक तथा वित्तीय क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै पछिल्लो समय बैंकहरुमा थुप्रिएको ७ खर्ब रकम व्यवस्थापन गर्न नसके आगामी दिन झनै बैंकहरुलाई अप्ठ्यारो पर्ने बताएका छन् । सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई सबल बनाउनको लागि बेवास्ता गरेको उनीहरूको भनाई छ । 

तरलता व्यवस्थापनको वातावरण राष्ट्र बैंकले गर्न आवश्यक देखिएको बैंकरहरूले उल्लेख गरे । बैंकरहरुले राष्ट्र बैंकको अनावश्यक हस्तक्षेपका कारण बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न समेत नसकेको आरोप लगाए । बैंकले सीमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाउँदा बैंकहरु समस्यामा परेको बैंकरहरुको भनाई छ । 

नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले अहिले बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए । उनले अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा माग बढ्न नसक्दा बैंकिङ क्षेत्रले सकस भोग्नुपरेको बताए । उनले बैंकहरुमा तरलतामा देखिएको असमानताले पनि बैंकहरूमा समस्या पारेको दाबी गरे । उनले अहिले बैंकहरुमा सात सय अर्ब लगानीयोग्य रकम बोकेर बसेको बताए । 

उनले भने, ‘नेपाली बैंकिङ क्षेत्रको चार दशकको यात्रामा सम्भवतः बैंकिङ क्षेत्र आजको दिनमा चुनौतीपूर्ण अवस्थामा उभिएको छ । विशेषगरी आर्थिक गतिविधि अवस्थाको इनब्यालेन्स  र लगातार अस्थिर राजनीतिको कारणले मुलुकमा अर्थतन्त्र स्लो डाउन,आर्थिक वृद्धि न्यून हुने र कर्जाको माग घट्दै जाँदा चुनौतीपूर्ण समयमा छौँ । बैंकहरुमा मुख्य रूपमा तीन समस्या देखेका छौँ ।’

सीईओ केसीले बैंकहरुमा बेलाबेलामा तरलता कहिले बढी हुने कहिले कम हुने अवस्थाले आगामी दिनमा बैंकहरुमा थप समस्या निम्त्याउने जोखिम देखिएको बताए । उनले अस्थिर राजनीति, अर्थतन्त्रमा आएको शिथिलता, बाह्य दबाब, कर्मचारी बाहिरिने तथा विदेश पलायन जस्ता समस्याले बैंकिङ क्षेत्रमा ठुलो चुनौती देखा परेको बताए । उनले यस्ता समस्याको कारणले बैंकहरुको रिटर्न अन इक्विटी घटेर ९ प्रतिशतको हाराहारीमा पुगेको बताए । 

सीईओ केसीका अनुसार समय–समयमा देखिने तरलताको अवस्था धेरै हुने र कहिले थोरै हुने हुँदा बैंकहरुलाई चुनौती रहेको छ । बैंकहरुले अहिले ७ सय अर्बको तरलता लिएर बसेका छन् । जुन रकमको व्यवस्थापन गर्न नसक्दा भोलिको दिनमा थप जोखिममा पुग्ने अवस्था देखिरहेको छ ।

उनले चालु आर्थिक वर्षको चार महिनाको रिपोर्ट हेर्दा बैंकहरुको ४ प्रतिशत माथि खराब कर्जा पुगेको बताए । दक्षिण एसियाका मुलुकहरू हेर्दा एनपीएमा नेपाल राम्रो अवस्थामा छ । बेला–बेलामा हुने कर्मचारी प्रतिको धरपकड लगायत बाह्य दबाबलाई सरकारले नियन्त्रण गर्न नसक्दा बैंकहरु अप्ठ्यारो अवस्थामा पुगेको बैंकरहरुको भनाई छ ।

बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले पनि नेपालका बैंकहरु चुनौतीपूर्ण अवस्थामा रहेको बताए । उनले बैंकहरुमा रिकभरी, खराब कर्जा व्यवस्थापन, लाभांशका समस्याहरू रहेको बताए । उनले चुनौतीका बाबजुद पनि बैंक तथा वित्तीय संस्थाहरू भित्रैबाट बलियो स्थितिमा रहेको बताए । 

उनले तथ्याङ्कमा बैंकिङ क्षेत्र मध्यम स्तरको देखिने र समस्यै समस्या रहेको बुझाई भए पनि आधारभूत रूपमा बैंकिङ क्षेत्र दृढ स्थितिमा रहेको उल्लेख गरे । अध्यक्ष कोइरालाले बैंकिङ क्षेत्रमा देखिएका वर्तमान समस्याहरूलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले नेपाल राष्ट्र बैंकले गर्दै आएको नियामयकी व्यवस्था बैंक तथा वित्तीय क्षेत्र सबल बनाउने उद्देश्य राखेर आउने गरेको उल्लेख गरे ।

उनले भने, ‘बैंकिङ क्षेत्रमा धेरै समस्याहरू छन् । जस्तो: रिकभरी, खराब कर्जा व्यवस्थापन, लाभांशका समस्याहरू छन् । तर, यी सबै समस्यालाई चिरेर अघि बढ्नुपर्ने अवस्था छ । राष्ट्र बैंकबाट पछिल्लो समय आएका रेगुलेसनसँगै आएका परिमार्जनले बैंकिङ उद्योगलाई दक्षिण एसियामा बलियो बन्न सघाएको छ ।’

उनले राष्ट्र बैंकको भूमिकाले नेपाली बैंकहरूलाई दक्षिण एसियामै मजबुत बनाउन प्रेरित गरेको बताए । नेपाली बैंकहरुले विवेकी बैंकिङ गर्दै आएकाले सुशासनका आधारमा अब्बल बन्दै आएको दाबी उनको थियो । उनले बैंकहरुको प्रतिफलमा राम्रो नदेखिए पनि भित्री रूपमा सबल रहेको जिकिर गरे । कोइरालाले बैंकर्स संघको अध्यक्षका रूपमा बैंकिङ क्षेत्रको समस्या समाधानको लागि आफू कटिबद्ध रहने प्रतिबद्धता जनाए । 

पूर्व बैंकर राजनसिंह भण्डारीले बैंकले सीमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाएको आरोप लगाए । उनले राष्ट्र बैंकले बैंकका कार्यकारी अधिकृत, अध्यक्षसँगको छलफलमा लाभांशको धेरै आशा नगर्न भन्ने गरेको बताए । उनले बैंकहरूले सुशासनलाई उच्च प्राथमिकतामा राखेर राष्ट्र बैंकका निर्देशन पूर्ण पालना गरी उच्च दरमा लाभांश बाँड्ने बैंकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । 

बैंकरहरूले बैंकलाई सबल र सक्षम बनाउनको लागि सबै क्षेत्रको सहयोग साथ आवश्यक रहेको बताए । उनीहरूले बैंकहरू पछिल्लो समय देखिएका समस्या समाधानको लागि सरकारले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?