काठमाडौं । ब्रिटिश कार कम्पनी एमजीले विश्वभर नै आफ्नो कारको मूल्य घटाएको पाइएको छ । मुख्यतः अष्ट्रेलियामा कम्पनीले आफ्नो कार नबिकेपछि मूल्य धेरै घटाएर विक्री गरिरहेको पाइएको हो ।
उत्पादन बढी बिक्रीमा कमी आएपछि एमजीले आफ्नो कारमा भारी छुट दिएर विक्री गरिरहेको हो । एमजीले अष्ट्रेलियामा कार बिक्न छाडेपछि ३९ हजार ९९० अष्ट्रेलियन डलर कायम भएको एमजी फोर एक्साइड ५१ कार अहिले ३४ हजार ९९० डलरमा विक्री गरिरहेको छ ।
त्यसैगरी एमजी फोर भेरियण्टका कारहरुमा ८ हजार अष्ट्रेलियन डलरसम्म मूल्य घटाएर बिक्री गरिरहेको छ । एमजीले अष्ट्रेलियामा लामो दूरीको कार पहिले ६० हजार डलरमा बेचेकामा अहिले ४२ हजार ९९० डलरमा झारेको छ । त्यसैगरी पहिले ३९ हजार ९९० डलर रहेको जेडएस एसयुभीलाई अहिले ३९ हजार ९९० कायम गरेको छ ।
अष्ट्रेलियामा मात्रै होइन, आफ्नो गाडी बिक्न छाडेपछि एमजीले भरातमा पनि कारको मूल्यमा कटौती गरेको छ । भारतमा उत्पादन हुने कारमा सामान्य कारमा पनि २ लाख भारतीय रुपैयाँले कटौती गरेको छ भने एमजीको जेड एस एसयुभीमा ५ लाख भारतीय रुपैयाँ कममा बिक्री गरिरहेको छ ।
पहिले भारतमा ७ लाख भारु रहेको इन्ट्री लेभलको एमजी कार अहिले ५ लाख भारुमा विक्री गरिरहेको एमजीले पहिले १८ लाख ९९ हजार भारतीय रुपैयाँ कायम गरिएको जेड एस एसयुभी कार अहिले १३ लाख ९९ हजार रुपैयाँमै बिक्री गरिरहेको छ ।
नेपालमा आउने एमजीका अधिकांश कार भारतमा उत्पादन हुने भएकाले भारतमा मूल्य घट्दा नेपालमा पनि त्यसको सोझो प्रभाव पर्ने गर्दछ । नेपालमा धेरै बिक्री भएको जेड एस एसयुभी कारको मूल्य भारतमै नेपाली ८ लाख रुपैयाँ घट्दा भन्सार लगायतका सबै शुल्क गर्दा कम्तीमा ११ लाखले फरक पर्छ । तर नेपालमा भने एमजीले मात्रै ४ लाख रुपैयाँ घटाएर जेड एस कारको बिक्री गरिरहेको छ ।
अहिले एमजीले जेड एस इभी कार ४८ लाख ४९ हजार रुपैयाँमा विक्री गरिरहेको छ भने जेड एस इभी डिलक्स कार ५२ लाख ९९ हजार रुपैयाँमा विक्री गरिरहेको छ । यी दुबैको मूल्य अहिले ४ लाखका दरले घटाइएको हो ।
आफ्ना कारको माग घट्न थालेपछि एमजी मोटर्सले विश्भर नै मूल्य घटाएर बेचिरहँदा पनि नेपालमा भने नगन्य रुपमा मूल्य घटाएर उपभोक्तालाई मार परिरहेको छ । नाफा जति व्यापारीले लैजाने तर ४ महिना पहिले कार किनेकाको भन्दा अहिले कार किनेकाले सस्तोमा पाउँदा एमजीको रिसेल भ्यालुसमेत एकाएक घट्न पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया