पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको छ : मन्त्री पाण्डे

लोकपथ
28
Shares
फाइल तस्बिर

चितवन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘मुलुक संघीय संरचनामा गइसकेपछि पर्यटनसम्बन्धी नयाँ नीति नै बनेको थिएन । नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ । यस विषयमा सरोकारवालासँग छलफल भइरहेको छ ।’ पर्यटन नीतिसँगै ऐन पनि बनाउने तयारी भइरहेको उनको भनाइ छ । 

सरकारले भ्रमण दशक भनेर सन् २०२२ मा घोषणा गरिएको भए पनि त्यसको कार्यायोजना बनाएर सन् २०२५ देखि २०३५ सम्मलाई भ्रमण दशक मनाउने तयारी मन्त्रालयले गरेको उनले बताए । 

उनले भने, ‘यस विषयमा मन्त्रालयमा विषयगत समितिको दोस्रो बैठक बसिसकेको छ । उक्त समितिले पर्यटन क्षेलाई कसरी रुपान्तरणमा लिएर जाने, पर्यटकीय क्षेत्रको सम्भावना कसरी बढाउने, यसका माध्यमबाट रोजगारी कसरी सिर्जना गर्ने, देशको अर्थतन्त्रमा कसरी योगदान बढाउने भन्ने विषयमा छलफल भएको छ ।’

मन्त्रालय नीतिगत सुधारको बाटोमा अघि बढेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसको परिणाम आउन केही समय लाग्ने बताए । 

नागरिक उड्ययन क्षेत्रमा पनि सेवाप्रदायक निकाय र नियमनकारी निकाय अलग-अलग रहने गरी नेपाल उड्डयन प्राधिकरणका दुईवटा विधेयक मन्त्रिपरिषद्मा पुगेको उनले उल्लेख  गरे ।

उनले नेपाल एयरलाइन्समा देखिएको समस्या समाधानमा पनि काम भइरहेको जानकारी दिए । नेपाल एयरलाइन्सको एउटा मात्रै ट्वीनअटर उडिरहेको अवस्थामा सात प्रदेशमा सात वटा ट्वीनअटर  सञ्चालन गर्नेगरी काम भइरहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?