काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले न्यायाधीश र पत्रकारले कुनै पनि विषयमा आफ्नो धारणा बनाउन नहुने भन्दै धारणा बनाइए त्यो एकपक्षीय हुनसक्ने बताएका छन् । तथ्य र मिसिलमा आधारित रहनुपर्ने व्यक्ति र संस्था धारणा बनाउनतिर लागे फैसला वा समाचार निष्पक्ष नबन्ने रेग्मीको भनाई छ ।
बिहीबार न्यायाधीश समाज नेपालले आयोजना गरेको ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै तटस्थ बस्नुपर्ने संस्था तटस्थ बन्न सकेन भने त्यसले दुष्परिणाम ल्याउन सक्ने न्यायाधीश रेग्मीले बताएका हुन् ।
न्यायपालिकाको जनआस्था वृद्धिमा सञ्चारमाध्यमको अहम् भूमिका रहने भन्दै न्यायाधीश रेग्मीले न्यायाधीशको पनि बोल्ने ठाउँ फैसलाबाहेक अन्यत्र नरहेको भन्दै न्यायाधीश र न्यायालयका कुरा पनि सञ्चारमाध्यमले बोलिदिनुपर्ने बताए । रेग्मीले भने, ‘हामीले बोल्ने ठाउँ भनेको फैसलामा मात्रै हो । त्यस कारण हामीले बोल्नुपर्ने कुरा पनि मिडियाले बोलिदिनुपर्छ ।’
लोकतन्त्रमा अदालत कमजोर भन्दा त्यसले राम्रोसँग काम गर्न नसक्ने र राज्य नै कमजोर बन्ने भन्दै न्यायपालिकालाई बलियो बनाउन र जनआस्था बढाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने पनि रेग्मीले बताए ।
उनले भने, ‘लोकतन्त्रमा अदालत कमजोर बन्यो भने त्यसले ठिक ढङ्गले काम गर्न सक्दैन । अदालतप्रतिको जनआस्था कमजोर भयो भने समग्र राज्य कमजोर बन्न थाल्छ । त्यस कारण न्यायालयको जनआस्था वृद्धि हुने गरी सकारात्मक समाचार लेखिदिन र अमूर्तरूपमा न्यायालयप्रति प्रहार नगर्न उनले आग्रह गरे ।
यो पनि …
समाचारले हुर्मत लिँदासमेत टुलुटुलु हेरेर बस्नुपरेको छ : प्रधानन्यायाधीश राउत
रेग्मीले भने, ‘अदालतमा भ्रष्टाचार छ भनेर मात्रै लेखिदिने होइन, कुन न्यायाधीशले घुस माग्यो वा खायो, कुन कर्मचारीले खायो, कुन बिचौलियासँग बस्यो स्पष्ट लेखिदिनुपर्छ ।
हामी मर्यादामा रह्यौँ भने मात्रै अदालत पनि मर्यादामा रहन्छ । त्यस कारण अमूर्त कुरा लेखेर कमजोर बनाउने होइन, तथ्य सहित लेखेर कारबाहीको दायरमा ल्याउनुपर्छ ।’
उनले अगाडि भने, ‘फलानो व्यक्तिलाई ठिक पारेँ भनेर सोचियो भने संस्था कमजोर बन्छ । व्यक्ति त आउँछ, जान्छ, संस्थाप्रति त हामीले माया गर्नै पर्छ । यसको मतलब गलत कुरा नलेख्नुहोस् भनेको होइन, खराब कुरा लेख्नुहोस्, तर अदालतप्रति जनआस्था बढाउने गरी समाचार लेख्ने काम पनि तपाईँहरूकै हो ।’
यो पनि …
बारम्बारको प्रहारले हाम्रा छाला पनि गैँडाको जस्तै भइसकेको छ : न्यायाधीश मल्ल
पत्रकारिता र न्यायपालिकामा धेरै कुरा समान रहेको भन्दै कुनै सञ्चारमाध्यमको सम्पादकीय नीतिमा भन्दा पनि तथ्यमा आधारित रहेर समाचार लेखिदिन रेग्मीले आग्रह गरे ।
उनले भने, ‘पत्रकारिता र न्यायपालिकाका धेरै कुरा समान छन् । न्यायपालिका स्वतन्त्र छ र पत्रकार पनि स्वतन्त्र हुनै पर्छ । तर समाचार लेख्दा सम्पादकीय नीति अनुसार लेख्ने कि तथ्यमा आधारित भएर लेख्ने, त्यो कुरा ख्याल गर्नुपर्छ ।’
‘कुनै आलु कुहिएको भए बाहिर निकाल्नुपर्छ, पूरै बोरा कुहाउन मिल्दैन’
न्यायालयको सम्बन्धमा सञ्चारमाध्यमले अमूर्त समाचार लेख्ने र सर्वसाधारण तथा सेवाग्राहीले धारणा बनाउने गरेको भन्दै कसले कहाँ कति र कसरी घुस माग्यो वा खायो, स्पष्टरूपमा लेखिदिन आग्रहसमेत गरे । उनले भने ‘हामी मुद्दा मात्रै हेर्दैनौँ, हामी बारेमा बाहिर के धारणा बनिरहेको छ, त्यो पनि त हामी हेर्छौँ नि । त्यस कारण गोश्वारारूपमा समाचार नलेख्दिनुहोस् । को बिचौलिया हो, को न्यायाधीश मिल्यो त्यो निर्ममतापूर्वक लेखिदिनुहोस् । कुनै आलु कुहिएको छ भने त्यसलाई बाहिर निकाल्नुपर्छ, पूरै बोरा कुहाउन मिल्दैन ।’
न्यायाधीश रेग्मीले समाचार लेख्दा व्यक्तिको गोपनीयताको सम्मान गरिदिन पनि सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । न्यायाधीशका पनि व्यक्तिगत जीवन र गोप्यता रहने भन्दै गोपनीयता भत्कियो भने त्यसबाट बाहिर निस्कन निकै कठिन हुने भन्दै त्यसको सम्मान गरिदिन आग्रह गरे ।
यो पनि …
कार्यपालिकाले राम्रो काम नगर्दा अदालतमा धेरै रिट आए : न्यायाधीश फुयाँल
अहिले सर्वोच्च अदालत सहित देशैभरका अदालतका न्यायाधीशले दैनिक १८ घण्टासम्म काम गरेको भन्दै त्यस विषयमा पनि सञ्चारमाध्यमले चासो दिनुपर्ने बताए । साथै न्यायाधीशले गरेका फैसलामाथिको स्वच्छ टिप्पणी स्वीकार्य रहेको भन्दै फैसलामाथिको टिप्पणीमा उत्साह भर्ने काम पनि गरिदिन पनि न्यायाधीश रेग्मीले आग्रह गरे ।
न्यायाधीश समाज नेपालको आयोजनामा भएको अन्तरक्रियामा न्यायाधीश समाज नेपालका अध्यक्ष तिलप्रसाद श्रेष्ठले आफ्नो धारणासहित कार्यपत्र प्रस्तुत गरेका थिए भने विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाधीश प्रकाश मान सिंह राउतले समेत आफ्नो धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया