‘हनी ट्र्याप’ प्रकरणमा मुछिएकी निलम्बित प्रहरी निरीक्षक शाही अदालतमा हाजिर

लोकपथ
196
Shares
निलम्बित इन्स्पेक्टर बिनु कुमारी शाही

काठमाडौं । ‘हनी ट्र्याप’ प्रकरणमा रकम असुली गरेको आरोप लागेकी निलम्बित प्रहरी निरीक्षक बिनुकुमारी शाही आज आइतबार ललितपुर जिल्ला अदालतमा हाजिर भएकी छन् । अदालतका प्रवक्ता राम सजिवन महतोले निलम्बित पहरी निरीक्षक शाही अदालतमा उपस्थित भएको उनी उपस्थित भएसँगै आजैबाट थुनछेक बहस सुरु हुने बताए ।

प्रहरी प्रभाग भैँसेपाटीको इन्चार्ज रहेका बेला ‘हनी ट्र्याप’को माध्यमबाट रकम असुली गरेको आरोप उनीमाथि लागेको थियो । यसै प्रकरणमा जिल्ला अदालत ललितपुरले यस अघि ताजमूल इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

त्यस्तै, प्रहरी हवल्दार महेन्द्र हमाललाई तारेखमा र सुस्मा विकलाई दुई लाख रुपैयाँ धरौटीमा र भीमादेवी थापालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको थियो । निलम्बित शाही र अर्का एक जना पुरुष दर्शन पोखरेल फरार रहेका थिए । यो प्रकरणमा उनीहरूमाथि मिलेमतोमा एक व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको खुलेको थियो ।

घटनाबारेमा ललितपुर प्रहरी परिसरका डिएसपी नरहरि अधिकारीको नेतृत्वमा प्रारम्भिक छानबिन भएको थियो । उक्त समितिले शाहीमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो । थप अनुसन्धानका लागि मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?