काठमाडौं । कास्की जिल्ला अदालतले आज (सोमबार) देखि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतसँग बयान थाल्ने भएको छ ।
कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेले पोखराको सूर्यदर्शन सहकारी प्रकरणका रवि लामिछानेसहितका अभियुक्तहरूसँग अदालतले आज सोमबारदेखि बयान लिने बताइन् ।
पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेसमेत ४४ जनालाई प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा हिजो आइतबार मुद्दा दायर भएको थियो । तीमध्ये केही कम्पनी पनि छन् ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालयले पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दा, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दामा थप ४४ जनालाई प्रतिवादी बनाएर कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ माग दाबीसहित ४ सय २७ पृष्ठ लामो पूरक अभियोगपत्र दायर गरेको थियो ।
सूर्यदर्शन सहकारी ठगी मुद्दामा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाएर गत वर्ष १८ असोजमा मुद्दा दायर गरिएको थियो । शुक्रबार उनीहरूविरुद्ध थप दाबी, थप कसुर र थप संलग्नतासहित थप अभियोगपत्र अदालत लगिएकामा आइतबार लामिछानेसमेतलाई प्रतिवादी बनाएर पूरक अभियोगपत्र लगिएको हो ।
१८ हजार ७ सय जना बचतकर्ता रहेको बहुचर्चित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यससहित कुल ६३ जना प्रतिवादी कायम भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सूचना अधिकारी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माकाअनुसार सहकारी ठगीमा ३१ जना, संगठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा चार जनालाई प्रतिवादी बनाइएको छ ।
सम्पत्ति जफत कम्पनी आठवटा र पाँचजना व्यक्ति छन् । सम्पत्ति शुद्धीकरण मुद्दासमेत चलाइएकामा रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडियाका उनका साझेदार पूर्वडीआईजी छविलाल जोशी, गितेन्द्रबाबु (जीबी) राई, नेचर हर्ब्सका सञ्चालक तनहुँका रामबहादुर खनाल, जीबीसँग मिलेर रकम हिनामिना गरेको आरोप लागेकी गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईं हुन् ।
कास्की जिल्ला अदालतमा विचाराधीन रहेको सहकारी ठगी मुद्दामा जीबीलाई शुक्रबार नै संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनसमेत आकर्षित हुने गरी थप मुद्दा चलाइएको थियो ।
जीबीसमेत १९ प्रतिवादीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनबमोजिम लामिछाने, जोशीसमेत अनुसन्धानको दायरामा आएका हुन् । सोबमोजिम जोशी गत ६ असोजमा र लामिछाने २ कात्तिकमा पक्राउ परी अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा थिए ।
पुरक अभियोगपत्र मात्र लामिछाने, जोशी, पछाईं, खनालसहित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, ओमप्रकाश गुरुङ, लीलाबहादुर गुरुङ, कृष्णबहादुर गुरुङलाई प्रतिवादी बनाइएको छ । फरार प्रतिवादीमा ज्ञानबहादुर बम्जन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, आरति गुरुङ, पेशलकुमार राई, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, देवेन्द्रबाबु राई, विज्ञान राई, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ, नेत्रपाणि बास्तोला, दीपेशकुमार पुन, विश्वविक्रम राई र लक्ष्मीप्रसाद पौडेल छन् ।
आठ संस्थामा गोर्खा मिडिया नेटवर्क, नेचर हब्र्स इन्टरनेसनल प्रालि, नेचर नेष्ट प्रालि, जीबी ग्रुप अफ कम्पनिज प्रालि, गोर्खा ग्रुप मल्टी इन्भेस्टमेन्ट प्रालि, मन्दरा स्पा एन्ड वेलनेस सेन्टर प्रालि, स्प्रिङउड रियल स्टेट एन्ड हाउजिङ प्रालि र नेपाल श्री मल्टी मिडिया प्रालि छन् ।
कास्की प्रहरीले करिब तीन महिना लगाएर गरेको अनुसन्धानपछि रायसहितको प्रतिवेदन गत १ पुसमा सरकारी वकिल कार्यालयमा बुझाएको थियो । प्रहरीकै रायबमोजिम सरकारी वकिलले शुक्रबार १९ जना प्रतिवादीविरुद्ध थप अभियोगसहित अभियोग लगेकामा आइतबार थप ४४ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दर्ता गरेको हो । ६५ दिनदेखि लामिछाने कास्की प्रहरी हिरासतमा छन् ।
रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटै मुद्दा दायर गरिएकामा सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो माग दाबी छ । लामिछानेलाई सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
यस्तै, छविलाल जोशीलाई सो मुद्दामा ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबी गरिएको छ ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना एवं अपचलन भएको बिगोमध्ये मूल अभियोगपत्रमा खुलाइएको १ हजार ३५ जना बचतकर्ताहरूको जम्मा बिगो १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ रहेको छ । थप अभियोग दाबीमा १ सय २१ जना खुलाइएका बचतकर्ताहरूको हुने थप बिगो रकम ३ करोड ३३ लाख ९५ हजार ३ सय ४९ रुपैयाँ रहेको छ । यस आधारमा बचनकर्ताको कुल बिगो १ अर्ब १४ करोड ६८ लाख ३८ लाख ३ सय ९४ समेत सहकारी ऐन, २०७४ को दफा १२४ बमोजिम पीडित जाहेरवालालाई दिलाई भराइ बाँकी बिगो सूर्यदर्शन सहकारीमा दिलाइभराइ गर्न अभियोगपत्र मार्फत माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया