काठमाडौं । मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्ष सुनिता दनुवारको आज सोमबार बिहान निधन भएको छ ।
जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनी मृत फेला परेको जानकारी परिवारले प्रहरीलाई दिएका छन् ।
उनका श्रीमानले आज बिहान सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेको र त्यसपछि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । उनको मृत्युको कारण खुलिसकेको छैन ।
दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो । दनुवारलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो । सो म्यागेजिनले सूचीमा उनलाई ३६ औं नम्बरमा समेटेको थियो । मानव बेचबिखनविरुद्ध गरेको सशक्त कामले उनलाई सो सूचीमा पारेको थियो ।
शक्ति समूहको कार्यकारी निर्देशकका रुपमा कार्यरत दनुवार आफैं पनि बेचबिखन प्रभावित थिइन् । १४ वर्षको उमेरमा भारतको बेश्यालयमा बेचिएकी दनुवार ६ महिनापछि मुक्त हुन सफल भएकी थिइन् । उनी र चरिमाया तामाङलगायतको अगुवाइमा शक्ति समूह गठन भएको हो ।
शक्ति समूहको प्रमुख उद्देश्य भारतका विभिन्न बेश्यालयमा बेचिएका नेपाली चेलीहरूको उद्दार गर्नु र चेलीबेटी बेचबिखनविरुद्ध काम गर्नु रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया