आत्महत्याका घटनालाई न्यूनीकरण गर्न सरकार र केयूबीच सम्झौता

लोकपथ
56
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एक वर्षभित्र सरकारले आत्महत्याका घटनालाई न्यूनीकरण गर्ने बताएका छन् । सोमबार सिंहदरबारमा गृह मन्त्रालय र काठमाडौं विश्व विद्यालय मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन तथा अनुसन्धान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षरपछि बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।  

सम्झौता पत्रमा गृह मन्त्रालयको तर्फबाट विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. टोकराज पाण्डे र काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागका निर्देशक डा.दीपक कुवँरले हस्ताक्षर गरे । सम्झौता पत्रमा हस्ताक्षरसँगै मानसिक स्वास्थ्य रोगका कारण आत्महत्याका विषयमा अध्ययन अनुसन्धानमा काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले सहयोग गर्ने भएको हो ।

गृहमन्त्री लेखकले सम्झौतासँगै गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच सहकार्य गरेर आत्महत्याका घटनालाई नियन्त्रण गरी कमी ल्याउने प्रतिबद्धता जनाए । उनले काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले नेपालमा आत्महत्याका घटना बढ्नुका कारण र उपायको खोजी गरी अनुसन्धान गरिने बताए । उनले सरकारले मुलुकभित्र हुने आत्महत्याका घटनालाई न्यूनीकरण गर्ने काम गरिरहेको बताए । गृहमन्त्री लेखकले सरकारले अहिले गरिरहेका कामले आत्महत्याका घटना कम नभएको भन्दै काठमाडौं विश्वविद्यालयसँग मिलेर काम गर्दा उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल प्रहरीले आत्महत्याका घटनाका विषयमा अध्ययन गरिरहने बताए । उनले आत्माहत्या गर्ने खोज्ने मानिसहरूलाई उद्धार गरी काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले काउन्सिलिङ गर्ने बताए । उनले नेपाल प्रहरीलाई काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले आधारभूत तालिम दिने बताए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?