बेमौसमी तरकारी बाली उत्पादन परीक्षणमा जुट्यो सुन्दर बजार

लोकपथ
42
Shares

लमजुङ । लमजुङको सुन्दर बजार नगरपालिकाले बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरु गरेको छ । जिल्लामा नै पहिलो पटक सुन्दर बजार नगरपालिकाले बेमौसमी तरकारीबालीको परीक्षण उत्पादन गर्न लागेको हो ।

नगरपालिकाभित्रका आठ जना किसान छनोट गरी प्रतिकिसान एक रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी उत्पादन परीक्षण गर्न लागिएको सुन्दर बजार नगरपालिका कृषि विकास शाखाका अधिकृत रघुनाथ अधिकारीले जानकरी दिए । 

विशेष गरी बागमती प्रदेशको धादिङका धेरै क्षेत्रमा बेमौसमी लहरे तरकारीबाली उत्पादन हुँदै आएको छ । सुन्दरबजारका किसानलाई पटक–पटक त्यही ठाउँमा कृषि अवलोकन भ्रमण लगेपछि यहाँका किसान पनि बेमौसमी लहरे तरकारी बालीप्रति आकर्षित भएर जिल्लामा नै पहिलो पटक उत्पादन परीक्षणमा लागेका शाखाका अधिकृत अधिकारीले बताए । 

अधिकारीका अनुसार पालिजातको करेला, न्यू नारायणी जातको घिरौला, अनमोल जातको लौका र भक्तपुरे काँक्रो सुरुको चरणमा परीक्षण उत्पादनमा लागिएको बताए । अहिले किसानले गुम्बज बनाएर बिरुवा रोप्ने काम गरिरहेका छन् । 

आर्थिक वर्ष २०८१/८२ को कृषि विकास शाखातर्फको कार्यक्रममा समावेश गरिएको बेमौसमी तरकारी बाली उत्पादन परीक्षणलाई नगरपालिकाले किसानलाई कच्चापदार्थ र मल बीउमा सहयोग गरेको छ । उत्पादनको लागि आवश्यक पर्ने कच्चापदार्थ बाँस, गुम्बज बनाउने प्लास्टिक, बीउ, आवश्यक मल, सिँचाइको लागि आवश्यक पर्ने हजारी, कीटनाशक विषादी, विषादी छर्न आवश्यक पर्ने स्प्रे, बिरुवा उत्पादनको लागि आवश्यक पोलिपट र प्राविधिक सहयोग पालिकाले गरेको शाखाका नायब प्राविधिक सहायक तिलकुमारी श्रेष्ठले बताए । 

प्राविधिक दृष्टिकोणले पनि बेमौसमी तरकारी लहरे बाली उत्पादनको लागि यस भूगोल उपयुक्त भएकाले आफूहरू परीक्षण उत्पादनमा सफल हुने किसानको आशा रहेको छ । परीक्षण उत्पादनको लागि किसानले चार जातका तरकारी प्रतिकिसान एक सय २० देखी एक सय २५ वटा बिरुवाका दरले रोपेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?