एचआइभी सङ्क्रमित स्वास्थ्य बीमाबाट वञ्चित

लोकपथ
56
Shares

काठमाडौं । विभेदको डरले समाजमा खुल्न नसकेका एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य बीमाको सुविधाबाट वञ्चित भएका छन् । निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुन सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने व्यवस्थाका कारण एचआइभी सङ्क्रमित समस्यामा परेका हुन् । 

एचआइभीको क्षेत्रमा क्रियाशील धवलागिरि पोजेटिभ समूहका वित्त तथा कार्यक्रम संयोजक सुवास कँडेलले बागलुङमा कूल दुई सय आठ जना एचआइभी सङ्क्रमितमध्ये ३४ जनाको स्वास्थ्य बीमा हुनसकेको छैन ।

‘एक सय ७४ जनाको निःशुल्क स्वास्थ्य बीमा भएको छ, समाजमा खुल्न नचाहने र विभेदको डरले ३४ जना स्वास्थ्य बीमामा समेटिन सक्नुभएको छैन’, उनले भने, ‘उहाँहरूका लागि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्र वा धवलागिरि पोजेटिभ समूहमार्फत बीमाको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग हाम्रो माग छ ।’ 

निःशुल्क स्वास्थ्य बीमा गर्न नपाएकामा जिल्लाको गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला गाउँपालिकालगायत विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित रहेका छन् । 

बीमा सुविधाबाट वञ्चित हुँदा एचआइभी सङ्क्रमित महँगो उपचार सेवा लिन बाध्य छन् । सरकारले एचआइभी सङ्क्रमितका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले आफ्नै बजेटबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बीमा गर्दै आएका छन् । स्वास्थ्य कार्यालय, बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले स्वास्थ्य कार्यालयको सिफारिसमा या अन्य आधिकारिक निकायमार्फत एचआईभी सङ्क्रमितको बीमा गरिदिने व्यवस्था गर्नुपर्ने बताए ।

धवलागिरि पोजेटिभ समूहका अनुसार जिल्लामा रहेका कूल दुई सय आठ एचआइभी सङ्क्रमित मध्ये २२ जना बालबालिका रहेका छन् । सङ्क्रमितमध्ये एक सय ५२ जनाले धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट औषधोपचारको सेवा लिइरहेका छन् । जिल्लाको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ अस्पतालबाट पनि एचआइभी सङ्क्रमितका लागि औषधि उपलब्ध गराइँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?