दाङमा ४ हजार सदस्य थप गर्ने नेविसंघको घोषणा

लोकपथ
98
Shares

दाङ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को १५ दिने सदस्यता वितरण तथा सुझाव संकलन अभियान दाङमा सुरु भएको छ ।

नेविसंघको १२औँ महाधिवेशनको प्रारम्भिक तयारी स्वरूप जिल्लामा सदस्यता वितरण तथा सुझाव संकलन अभियान आइतबारदेखि सुरु भएको हो ।

नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीको प्रमुख आतिथ्यता एवम् कोही प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेय,नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी,कांग्रेस नेतृ तथा संविधान सभा सदस्य अनिता देवकोटाको विशिष्ट आतिथ्यतामा १५ दिने सदस्यता वितरण तथा सुझाव संकलन अभियान सुरु गरिएको हो ।

त्यस्तै अभियान अन्तर्गत नेविसंघले जिल्लाका १० वटै स्थानीय तहमा रहेका कलेज तथा माध्यमिक तहका विद्यालयमा सदस्य थपसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरीले जानकारी दिए । अभियानका क्रममा नेविसंघले जिल्लामा चार हजार सदस्यता थप गर्ने र आगामी दिनमा नेविसंघलाई कसरी अघि बढाउन सकिन्छ भनेर विद्यार्थीसँग सुझाव संकलन गरिने नेता गिरीले बताए ।

नेता गिरीका अनुसार अभियानका लागि जिल्लामा केन्द्रीय सदस्यद्वय तिकलराम पाण्डेय (टिआर) र सुशान्त आचार्य केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका छन् ।

अभियानको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले नेविसंघलाई सशक्त र विद्यार्थीको लोकप्रिय संगठनका रूपमा विकास गर्ने गरी लाग्न सुझाव दिए ।

नेविसंघ नेपाली कांग्रेसको नर्सरी समेत भएको भन्दै नेता स्नेहीले कांग्रेसलाई जनताको बलियो शक्तिका रूपमा स्थापित गर्न नेविसंघले भूमिका खेल्नु पर्ने बताए ।

त्यस्तै अभियानको उद्घाटन कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तिकलराम पाण्डेय (टिआर),सुशान्त आचार्य,आकाश भण्डारीलगायत १० वटै स्थानीय तह तथा कलेजका सभापति लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?