पर्यटकलाई कुनै पनि समस्या आउन दिनु हुँदैन : मन्त्री पाण्डे

लोकपथ
28
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकलाई कुनै पनि समस्या नहुने गरी सहजीकरणको व्यवस्था मिलाउन विमानस्थल सम्बद्ध निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्बद्ध निकायको बैठकमा उनले विदेशी नागरिक पहिलो पटक प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानस्थल संवेदनशील क्षेत्र भएकाले सकारात्मक सन्देश दिने गरी सबै जिम्मेवार भएर लाग्न निर्देशन दिएका हुन् ।  

‘यो विमानस्थल संवेदनशील क्षेत्र हो । त्यसैले सुरक्षा निकायको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ । एक पटक आउने विदेशी पर्यटकलाई पटक-पटक यहाँ आउने वातावरण बनाउनुपर्छ’, मन्त्री पाण्डेले भने ।

उनले ४६ लाख क्षमता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हाल ९० लाख यात्रुलाई सेवा दिनुपर्ने बाध्यता रहेकाले प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त बनाउनसमेत आग्रह गरे । मन्त्री पाण्डेले विमानस्थलमा देखिएका समस्याहरूको पहिचान गरी १५ दिनभित्र कार्य योजना बनाएर अघि बढ्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?