काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई सभामुख देवराज घिमिरेले सोमबार निलम्बन गरेका हुन् ।
विभिन्न सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा समेत लामिछानेविरुद्ध आइतबार मुद्दा दर्ता भएपछि उनलाई सांसद पदबाट समेत निलम्बन गरिएको हो ।
लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको जानकारी प्रहरीले सङ्घीय संसद् सचिवालयलाई गराएको थियो । मुद्दा दर्ता भएको औपचारिक जानकारी आए लगत्तै सभामुख घिमिरेले सोमबार लामिछानेलाई सांसद पदबाट निलम्बन गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीमा संसद् अधिवेशन चालु नरहेको अवस्थामा निलम्बन गर्नुपर्दा त्यसको सूचना टाँस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार सोमबार सूचना टाँस गरेर सभामुख घिमिरेले लामिछानेको सांसद पद निलम्बन गरेका हुन् ।
सूचनामा भनिएको छ, ‘…..प्रचलित कानुन बमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको सो कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया