रविसहितको मुद्दाबारे कास्की जिल्ला अदालतको कार्यसूची : बिहीबारसम्म बयान, शुक्रबारदेखि थुनछेक बहस

लोकपथ
413
Shares

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दाका प्रतिवादीहरूको सोमबारदेखि कास्की जिल्ला अदालतमा बयान सुरु भएकोमा आज मंगलबार रास्वपाका सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको बयान गरिने भएको छ । नेपाल प्रहरीका पूर्वडीआईजी एवं गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीको बयान सकिए लगत्तै न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिल कार्यालयले लगाएको आरोप, सजाय र जरिवानाको मागदाबीका सम्बन्धमा केन्द्रित रहेर लामिछानेलगायतको बयान सुरु हुने छ ।

नेपालकै कान्छा न्यायाधीश राईले प्रतिवादीहरूको बयान, थुनछेक बहससँगै आदेश दिने छन् । जसमा पुर्पक्षका लागि थुनामा, धरौटी वा साधारण तारेखमा रिहामध्ये एक आदेश गरिने कानुनी व्यवस्था छ । कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले हिजो सोमबारदेखि सुरु भएको जोशीको बयान आज मंगलबार सकिएपछि लामिछानेको बयान सुरु हुने बताए ।

सामान्यतया कसुरमा बढी भूमिका भएका प्रतिवादीबाट बयान सुरु गरिने चलनअनुसार जोशीको बयान पहिला लिइएको हो । स्रेस्तेदार खनालले पर्सि बिहीबारसम्म पाँचै जनाको बयान सकेर छिटोमा शुक्रबारदेखि थुनछेकको बहस सुरु गर्ने तयारी रहेको पनि बताए ।

जोशीले ग्यालेक्सी टीभी सञ्चालन गर्ने सन्दर्भमा गोर्खा मिडिया नेटवर्कमा आफूभन्दा अघि रवि लामिछाने जोडिएको बयान दिएका छन् । लामिछानेले प्रहरीसँगको (मौकाको) बयानका क्रममा आफू सेयर धनीका रूपमा नभई प्रबन्ध निर्देशकका रूपमा गोर्खा मिडिया नेटवर्कमा जोडिएको बताएका थिए । जोशीले सोमबार अदालतमा लामिछानेलाई सुरुमै सञ्चालक बनाउन खोजिए पनि उनी कालिकोटको रास्कोटमा अस्पताल निर्माणमा व्यस्त भएकाले उनकै सल्लाहमा कम्पनी दर्ता गरेको बयान दिएका छन् ।

न्यायाधीश राईले सोधेका १५ प्रश्नको जवाफ दिने क्रममा जोशीले आफ्नो घरमा भेटिएको भनिएको ‘सफ्टवेयरको हार्डडिस्क’ बारे पहिला कुनै जानकारी नभएको, बताएका छन् । उनले संसदीय छानबिन विशेष समिति, सरकारी वकिल र प्रहरीका अनुसन्धान अधिकारीलाई दिएकै बयान दोहोर्‍याएका छन् । 

कास्की जिल्ला अदालतमा पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सहकारी ठगी मुद्दा विचाराधीन छ । गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जिबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको थियो ।

कास्की प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनसँगै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार र आइतबार गरी सोही मूल मुद्दामा थप प्रतिवादी बनाई पूरक अभियोगपत्र दायर गरिसकेको छ । आइतबार दायर पूरक अभियोगपत्रमा रास्वपा सभापति लामिछाने, गोर्खा मिडिया नेटवर्कमा उनका साझेदार पूर्व उपाध्यक्ष एवं पूर्व डीआईजी जोशीसमेत ४४ जनालाई प्रतिवादी बनाइएको छ । यसरी कुल ६३ प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो कायम गरेर दायर मुद्दामा हिरासतमा रहेका ५ प्रतिवादीको बयान लिन थालिएको हो ।

मुद्दामा ६३ प्रतिवादीमध्ये सहकारी ठगीमा ३१ जना, संगठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा ५ जनालाई प्रतिवादी बनाइएको छ । अन्य ८ वटा कम्पनी र ५ जना व्यक्तिको सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको छ । 

सम्पत्ति शुद्धीकरण मुद्दासमेत चलाइएका ५ जनामा रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडियाका उनका साझेदार पूर्व डीआईजी जोशी, गितेन्द्रबाबु (जीबी) राई, नेचर हब्र्सका सञ्चालक तनहुँका रामबहादुर खनाल, जीबीसँग मिलेर रकम हिनामिना गरेको आरोप लागेकी गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईं हुन् । हाल कास्की प्रहरी हिरासतमा लामिछाने, जोशी, खनाल, पछाई र कृष्णबहादुर गुरुङ छन् ।

कास्की जिल्ला अदालतमा विचाराधीन रहेको सहकारी ठगी मुद्दामा जीवी राईलाई शुक्रबार नै संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनसमेत आकर्षित हुने गरी थप मुद्दा दायर गरिएको थियो । जीबीसमेत १९ प्रतिवादीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनबमोजिम लामिछाने, जोशीसमेत अनुसन्धानको दायरामा आएका हुन् । सोबमोजिम जोशी गत ६ असोजमा र लामिछाने २ कात्तिकमा पक्राउ परी अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा थिए ।

पूरक अभियोगपत्र मात्र लामिछाने, जोशी, पछाईं, खनालसहित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, ओमप्रकाश गुरुङ, लीलाबहादुर गुरुङ, कृष्णबहादुर गुरुङलाई प्रतिवादी बनाइएको छ । फरार प्रतिवादीमा ज्ञानबहादुर बम्जन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, पेशलकुमार राई, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, देवेन्द्रबाबु राई, विज्ञान राई, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ, नेत्रपाणि बास्तोला, दीपेशकुमार पुन, विश्वविक्रम राई र लक्ष्मीप्रसाद पौडेल छन् । ८ संस्थाहरूमा गोर्खा मिडिया नेटवर्क, नेचर हव्र्स इन्टरनेशनल प्रालि, नेचर नेष्ट प्रालि, जि.बि. ग्रुप अफ कम्पनीज प्रालि, गोर्खा ग्रुप मल्टी इन्भेस्टमेन्ट प्रालि, मन्दरा स्पा एन्ड वेलनेस सेन्टर प्रालि, स्प्रिङउड रियल स्टेट एन्ड हाउजिङ प्रालि र नेपाल श्री मल्टी मिडिया प्रालि छन् ।

रास्वपा सभापति लामिछानेकी पत्नी नीकिता पौडेलविरुद्ध पनि मुद्दा दर्ता भएको छ । रविलाई ३ मुद्दा लगाइएकोमा पत्नी नीकितालगायतलाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । सम्पत्ति शुद्धीकरणको मुद्दामा रविसँग सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो माग दाबी गरिएको छ । सम्पत्ति जफतमा नीकितासहित  जोशीकी पत्नी पद्मा जोशी बन्जाडे, छोरा रोचक जोशी, लीला पछाईकी आमा राधा पछाई, दिदी गीता पछाईसँँग पनि सम्पत्ति जफत गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?