काठमाडौं । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा भारी मतान्तरले विजयी भएकी छन् । इटहरीमा पुस ६ गतेदेखि पुस ८ गतेसम्म चलेको अधिवेशनबाट सन् २०२५ का लागि उनी राष्ट्रिय अध्यक्षमा विजयी भएकी हुन् । थापाले ७६२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४५३ मतमा चित्त बुझाउनु परेको छ । एक हजार दुई सयभन्दा बढी मतदाता थिए ।
राष्ट्रिय अध्यक्षमा निर्वाचित थापा सन् २०२३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बनेकी थिइन् । त्यसअघि उनी सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्ष र सन् २०२१ मा राष्ट्रिय उपाध्यक्ष निर्वाचित भएकी थिइन् । सन् २०११ मा जेसीजको साधारण सदस्यको रूपमा जेसीज प्रवेश गरेकी उनी सन् २०१२ मा उपाध्यक्ष, सन् २०१३ मा कार्यकारिणी उपाध्यक्ष, सन् २०१४ मा कोषाध्यक्ष, सन् २०१५ मा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष, सन् २०१६ मा तालिम संयोजक, सन् २०१७ मा कार्यक्रम कार्यान्वयन संयोजक, सन् २०१८ मा बिजनेस प्रमोसन संयोजक हुँदै सन् २०१९ मा मनहरा जेसीजको अध्यक्ष भएकी थिइन् ।
उनी जेसीजमा मात्रै होइन, राजनीतिमा पनि अग्रपंक्तिमा छिन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएकी उनी नेपाल विद्यार्थी संघ सीटीईभीटी केन्द्रीय उपाध्यक्ष, नेपाली कांग्रेस टोखा नगर सदस्य, नगर सचिव हुँदै टोखा नगर सभापतिसमेत भइसकेकी छन् । नेपाली कांग्रेस प्रशिक्षण विभाग प्रशिक्षक समेतको जिम्मेवारी सम्हालिसकेकी उनी अहिले काठमाडौं क्षेत्र नं ५ को कांग्रेसको सचिव रहेकी छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा मेयरकी उम्मेदवार रहेकी थापा झिनो मतान्तरले मात्रै पराजित भएकी थिइन् ।
यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षका लागि आठ जना भिडेकोमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।राष्ट्रिय उपाध्यक्षमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मणिप्रसाद अर्याल निर्वाचित भएका छन् । जेसीजमा महासचिव र कोषाध्यक्षलगायत पद भने मनोनीत हुने व्यवस्था छ । जेसीजमा १७८ शाखा छन् ।
निर्वाचितहरूको मत कसको कति ?
अध्यक्ष
रजनी थापा – ७६२ मत (विजयी)
जीवन कार्की– ४५३ मत
कार्यकारिणी उपाध्यक्ष
गणेश सापकोटा – ७८५ मत (विजयी)
एलिना महर्जन – ७३४ (विजयी)
कृष्ण सापकोटा – ७६८ (विजयी)
सौरभ श्रेष्ठ – ६८३ (विजयी)
उपाध्यक्ष
सन्दीप खत्री – १०६८ (विजयी)
दीपक अधिकारी – १०६२ (विजयी)
धनराज कँडेल – १०३४ (विजयी)
सुजन थापा काजी – १०२३ (विजयी)
संगम कार्की – ९५८ (विजयी)
बबिता पाण्डे – ९२२ (विजयी)
अभिषेक दुलाल – ९०७ (विजयी)
सुमत्रा भट्टराई – ८७८ (विजयी)
उज्ज्वल काबरा – ८२९ (विजयी)
सुवास गौतम – ८१८ (विजयी)
राघव कोइराला – ८०० (विजयी)
मणिप्रसाद अर्याल – ७८३ (विजयी)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया