कर्जा प्रवाह नहुँदा बैंकमा थुप्रियो नगद, राष्ट्र बैंकले आज पनि ४० अर्ब रुपैयाँ प्रणालीबाट खिच्दै

लोकपथ
84
Shares

काठमाडौं । कर्जा प्रवाह हुन नसक्दा बैंकमा अधिक तरलता थुप्रिए पछि पछिल्लो समय नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आइरहेको छ । राष्ट्र बैंकले आज मंगलबार पनि बजारमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ प्रणालीबाट खिच्ने भएको छ ।

आज मंगलबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् १२ दिनका लागि ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । पुस २१ गते साँवा र ब्याज भुक्तानी मिति निर्धारण भएको पनि केन्द्र बैंकले जनाएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले ७ गते ६० अर्बको निक्षेप संकलन उपकरण जारी गरेकोमा १४ बैंकहरुले १६ आवेदन मार्फत ३६ अर्ब ८५ अर्ब बोल गरेका थिए । जसमध्ये प्रक्रिया पुगेको ३४ अर्ब ८५ करोड मात्र राष्ट्र बैंकले लिएको छ । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस ९ गते सम्ममा निक्षेप संकलन उपकरण मार्फत ३३ पटकमा १२ खर्ब ३० अर्ब रुपैयाँ उठाएको छ । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?