कैलाली । जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन सुरु गरेको छ ।गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले विद्यालयलाई विद्यार्थीले हासिल गरेको नतिजाका आधारमा अनुदान दिन सुरु गरेको हो ।
नतिजाकै आधारमा गाउँपालिकाले चालु आर्थिक वर्षमा विद्यालयलाई अनुदान दिएको छ । आधारभूत तहमा कक्षा ८ को परीक्षा र एसइईको नतिजामा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई अनुदान दिएको हो ।
जसअनुसार माध्यमिक तहतर्फ भृकुटी मावि प्रथम भएको छ । जसले चार लाख अनुदान प्राप्त गरेको छ । त्यसैगरी दोस्रो जनता नमुना मावि मुनुवाले दुई लाख ५० हजार प्राप्त गरेको छभने तेस्रो अरुणोदय मावि खैरीफाँटाले एक लाख ५० हजार प्राप्त गरेको छ ।
आधारभूत तहतर्फ राष्ट्रिय आधारभूत विद्यालय खैरीपुर प्रथम भएको छ । राष्ट्रिय आधारभूत विद्यालयले तीन लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी दोस्रो हिमालय राष्ट्रिय मावि अमरावतीले दुई लाख प्राप्त गरेको छ । यसले विद्यालयलाई प्रतिस्पर्धामा ल्याउने विश्वास गाउँपालिकाको छ ।
गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यालयको गुणस्तर सुधार गर्न र विद्यार्थीको सिकाइ उपलब्धि बढाउनका साथै विद्यालयलाई प्रतिस्पर्धी बनाउन गाउँपालिकाले विद्यालयलाई नतिजामा आधारित अनुदान कार्यक्रम सुरु गरेको बताए । ‘पहिलो वर्ष आधारभूत तह र माध्यमिक तहको कक्षा ८ र १० लाई प्राथमिकतामा राखिएको थियो । आउँदो वर्षदेखि कक्षा ५ को परीक्षा नतिजाका आधारमा पनि विद्यालयले अनुदान पाउनेछन्, ‘अध्यक्ष चौधरीले भने, ‘यस कार्यक्रमले शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौँ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले विद्यालय र विद्यार्थीलाई सबल बनाउन गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम सुरु गरेको बताए । ‘यो कार्यविधिले विद्यालय तथा शिक्षकहरूलाई चुनौती पनि थपेको छ । साथै विद्यालयलाई नतिजा सुधारमा प्रतिस्पर्धी पनि बनाउने छ, ‘उनले भने, ‘यसले आगामी दिनमा गाउँपालिकाले चाहेको शैक्षिक गुणस्तर कायम गर्नमा मद्दत पुग्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया