काठमाडौं । केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगन सार्वजनिक गरेको छ । मङ्गलवार एक कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भलिबल लिगको लोगो र स्लोगान सार्वजनिक गरिएको हो ।
कार्यक्रममा मन्त्री चौधरीले एनभीएलको लोगो अनावरण गरेका थिए भने मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा ‘उँचाइको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे । केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप उँचाइमा पुर्याउने लक्ष्यका साथ उँचाइको उडान स्लोगान राखिएको बताए ।
नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ को मार्च महिनामा सुरु हुनेछ । लिगमा देशभरका विभिन्न क्षेत्रबाट उत्कृष्ट खेलाडीहरूका साथै विभिन्न अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागिता रहनेछ ।
यो प्रतियोगिताले नेपालभरका उत्कृष्ट भलिबल खेलाडीहरूको सहभागिता सुनिश्चित गर्नेछ र खेलाडीहरूको लागि नयाँ अवसरको सृजना गर्नुका साथै नेपाली भलिबलको स्तरलाई थप नयाँ उँचाइमा पुऱ्याउने लक्ष्य रहेको केडिया ग्रुपले जनाएको छ ।
एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिङ्गल राउन्ड रोविनका आधारमा खेल हुने जानकारी दिए । उनका अनुसार ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुनेछ र लिगमा शीर्ष दुई स्थानमा रहने टोली बीच फाइनल खेल हुनेछ । हरेक टोलीमा ९ नेपाली र ३ विदेशी खेलाडी गरी कुल १२ खेलाडी रहने बताइएको छ ।
पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुप बीच गत जेठमा ७ वर्षको लागि सम्झौता भइसकेको छ । सम्झौता अनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ प्रदान गर्नेछ ।
नेपाल भलिबल लिगको माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबललाई नयाँ उँचाइमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा लैजाने सोच बनाएको अध्यक्ष विमल केडियाले बताए ।
कार्यक्रममा श्रीलंकामा भएको काभा पुरुष भलिबल प्रतियोगितामा रजत पदक जित्न सफल भएको यु–२० नेपाली राष्ट्रिय टोलीको सदस्यलाई नगदसहित सम्मान गरिएको थियो ।
१२५ वर्ष लामो विरासत बोकेको केडिया ग्रुपले आर्थिक, शैक्षिक, सामाजिक, आध्यात्मिक, स्वास्थ्य, खेलकुदलगायतका विभिन्न क्षेत्रहरूमा योगदान पुऱ्याउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया