काठमाडौं । जिल्ला सदरमुकाम इनरुवा-२ का रविन्द्र यादवले इनरुवा-२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ जाने युवालाई उनले उक्त रकम स्वदेशमा लगानी गरी स्वरोजगार बन्ने सकिने सन्देश दिए ।
मधेस आन्दोलनका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेका यादवले कुनै ठाउँमा अवसर नपाएपछि ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गरे । उनले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवा बनाएर बिक्री गर्दै आएका हुन् ।
यादवले अहिले सबै खर्च कटाएर मासिक ९० हजारसम्म आम्दानी भइरहेको जानकारी दिए । हरिनगर गाउँपालिकाबाट दैनिक तीन सय लिटर र देवानगञ्ज गाउँपालिकाबाट दुई सय लिटर दुध संकलन हुँदै आएको उनले उल्लेख गरे ।
दैनिक रूपमा पाँच सय लिटर दूध, एक सय किलो दही, दुई किलो खुवा र पाँच किलो पनिर बिक्री हुँदै आएको यादवले जानकारी दिए । उनका अनुसार मासिक रूपमा एक लाख २० हजार आम्दानी हुनेमा सबै खर्च कटाउँदा ९० हजार बचत भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया