‘डिप्रेसन’ले निम्त्याएको बालकोट घटना : बुबा र भाइको हत्यापछि आत्महत्या प्रयाससम्म

काठमाडौं । सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित फिकाधाराको एक घरमा भाडामा बस्ने बाबु–छोरा मृत अवस्थामा भेटिए ।

शनिबार हत्या भएको भए पनि ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रविण आचार्यको शव २ दिनपछि मात्र अन्य व्यक्तिहरुले देखे । प्रहरी अनुसन्धानका क्रममा हत्या कुलप्रसादकै जेठा छोरा मिलन आफैँले गरेको स्वीकार गरिसकेका छन् ।

बाबु कुलप्रसाद र भाइ प्रविणको हत्यापछि फरार रहेका २५ वर्षीय मिलनले मंगलबार बिहान प्रहरी वृत्त महाराजगन्जमा आत्मसमर्पण गर्दै उनले आफैँले हत्या गरेको बयान समेत दिएका छन् । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा जे–जे कुरा भनेका छन्, त्यो भने अत्यन्तै गम्भीर र उदेकलाग्दो छ । साथै, अध्ययनपछि रोजगारी गर्न चाहने युवाहरुमा बारम्बारको असफलताले उनीहरुको मानसिक स्वास्थ्यमा कस्तो असर पार्दाेरहेछ भन्ने तस्बिर पनि उनको बयानले छर्लंग पारेको छ ।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ स्थायी घर भएका मिलन स्नातक उत्तीर्ण युवा हुन् । सामान्य परिवारमा जन्मिएका उनको उदेश्य थियो– ‘सरकारी जागिर खाने र बाबुआमालाई राम्रोसँग हेर्ने ।’

उनका बाबु पनि सरकारी कर्मचारी । जिल्ला हुलाक कार्यालय दिक्तेलका निमिक्त प्रमुख । बाबु कुलप्रसादको चाहना थियो–छोरालाई पनि सरकारी कर्मचारी भएको हेर्ने । बाबु र आफ्नै चाहनाबमोजिम मिलनले खरिदार र नासु पदमा ६, ७ पटक परीक्षा पनि दिए । तर हात लाग्यो शून्य झैँ भयो । निरन्तरको असफलता र घरायसी अवस्थाका कारण उनी डिप्रेसनमा पुगे । त्यसपछि उनको मनमा नकारात्मक भावनाले घर गर्न थाल्यो ।

कालान्तरमा उनको मन त्यहाँसम्म पुग्यो कि, यस्तो जिन्दगी जिउनुभन्दा परिवारका सबै सदस्यलाई मार्ने र आफू पनि मर्ने ।
उनले प्रहरीसँगको बयानमा बताएअनुसार गत दशैँ गाउँ जाँदा बाबु–आमा दुवैलाई मार्न खोजेको तर वातावरण नमिलेको, अहिले भने बाबुलाई मार्नका लागि उपयुक्त मौका मिलेको सनसनीपूर्ण बयानसमेत दिएका छन् ।

प्रहरीसँगको प्रारम्भिक बयानमा उनले भनेका छन्, ‘म नबाँचेपछि परिवारका अरू कसरी बाँच्लान् भन्ने लाग्यो । त्यसैले मभन्दा पहिला बुबाआमा मार्नुपर्छ भन्ने ठानेँ, दशैँमा गाउँ गएका बेला मार्ने प्रयास गरेको थिएँ तर वातावरण मिलेन, अहिले बुबा काठमाडौं आएका बेला ‘उपयुक्त’ मौका छोपेँ, हामी सबैले न्याय र मुक्ति पाउने भयौँ भन्ने लागेर बुबा र भाइलाई मारेँ ।’

खोटाङमै श्रीमतीसँग बस्दै आएका बाबु कुलप्रसाद कार्यालयको काम, उपचार र छोराहरुलाई भेट्ने भन्दै पुस २ गते काठमाडौं आएका थिए । उनी त्यस दिनदेखि छोराहरुसँगै बस्दै आएका थिए । उपचार गर्ने उदेश्यसहित काठमाडौं आएका बाबु कुलप्रसादलाई के थाहा ? छोराकै हातबाट आफ्नो मृत्यु हुँदैछ भनेर । छोराको मनमा परिवारलाई नै सखाप पार्ने योजना बनिरहेको कुरा खेलिरहेको छ भन्ने उनले भेउ नै पाउन सकेनन् ।

गत शनिबार राति (पुस ६ गते) । मिलनले घरमा मासु ल्याए । तीन बाबुछोरा मिलेर खाए । एउटै फ्ल्याटमा बसेका अन्य दुई वटा कोठामा बसेकाहरुलाई पनि कचौरामा मासु दिए । त्यसपछि तीन बाबु छोरा गफिए । रात ढल्कँदै थियो । अन्य दुई कोठामा बसेकाहरु पनि सुतिसकेको थाहा पाए । उनको भाइ प्रविणको दैनिकी नै हो– सधैंजसो राति ढिलो कोठामा आउने, ढिलो सुत्ने अनि बिहान १०–११ बजे मात्र उठ्ने । प्रहरीसँगको बयानमा उनले आफू भाइको यस्तो व्यवहारले आजित बनेको पनि बताएका छन् । उनले भनेका छन्, ‘भाइले काम नै गरेन, राति अबेर सुत्ने र बिहान अबेर उठ्ने बानीले म अवाक बनिरहेको थिएँ । उसको भविष्य सम्झेर पनि म धेरै बेचैनी हुने गर्थेँ ।’

घटनाका आरोपित मिलन आचार्य

रात ढल्कँदै गएपछि भने उनी आफ्नो पूर्वयोजना कार्यान्वयन गर्नेतर्फ लागे । उनीसँग कोठामा ‘डमबेल’ (शारीरिक सुगठनमा प्रयोग हुने) र सिलौटो थियो । डमबेल पाँच किलोबराबरको थियो । अनुसन्धानरत एक प्रहरीका अनुसार, यो डमबेलले सिधै टाउकोमा हान्दा मान्छेले ऐया पनि भन्न भ्याउँदैन, कहाँ हान्दा प्राण जान्छ भन्ने कुरा बुझेरै हानिएको छ ।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार, बाबु र भाइको हत्याका लागि डमबेल र सिलौटा नै प्रहार गरिएको थियो । कुलप्रसादको टाउको पछाडि, कानमा र प्रवीणको टाउको पछाडि चोट देखिएको थियो ।

डमबेलको एकै प्रहारमा मृत्यु भएकाले पनि अन्य कोठामा भएकाले घटनाको सुइँकोसमेत पाउन नसकेको पनि प्रहरीको निष्कर्ष रहेको छ ।

हुन पनि कस्तो भयो भने, सँगै रहेको दुई वटा कोठामा बस्नेहरुले घटनाको सुइँकोसमेत पाएनन् । आइतबार दिनभर र सोमबार बिहानसम्म पनि उनीहरू बस्दै आएको दुवै कोठामा ताल्चा झुन्डिएको देखेपछि सोही घरमा भाडामा बसेकाले दिएको सूचनाका आधारमा प्रहरीले ताल्चा फुटाउँदा उनीहरूको शव फेला परेको थियो ।

शनिबार राति अबेरसम्म तीन बाबुछोरालाई सँगै देखेका, उनीहरूले दिएको मासुसमेत खाएका सोही फ्ल्याटको अर्काे दुईवटा कोठामा भाडामा बसेकाहरूले मिलनलाई भने नदेखेपछि शंकाको सुई मिलनमाथि नै सोझिएको थियो । प्रहरीले उनको सोधखोज गर्ने क्रममा आइतबार बिहान ३ बजे (घटना भएको केही समयको अन्तरालमा) नै उनी स्कुटर लिएर कोठाबाट बाहिरिनु र मोबाइलसमेत ‘अफ’ गर्नुले पनि मिलनले नै अप्रिय घटना गराएको प्रहरी आशंकामा बल पुगेको थियो । लगत्तै प्रहरीले उनको खोजी गरे पनि पक्राउ पर्न नसकेको अवस्थामा उनी आफैँ मंगलबार बिहान प्रहरीसमक्ष उपस्थित भएका थिए ।

आत्मसमर्पणपछि उनले बाबु र भाइको हत्या आफूले गरेको स्वीकार मात्रै गरेका छैनन्, परिवारका सबै सदस्यको हत्या गरेर आत्महत्या गर्ने आफ्नो मिसन नै रहेको प्रहरीसमक्ष बयान दिएका छन् । आफू नबाँचेपछि परिवारका अरू सदस्य कसरी बाँच्लान् भन्ने चिन्ताले आफूले सो योजना बनाएको पनि उनले खुलाएका छन् ।

मिलनले हत्याका लागि प्रहरीसँग खुलाएका तीनवटा कारण हुन्– आफ्नै असफलता, भाइ प्रविण पछिल्लो समय कुलतमा फसेको, बाबु पनि डिप्रेसनका बिरामी । यी तीनवटा कारणले आफूलाई अत्यन्तै तनाव भएको र तनाव सहन नसकेपछि सो घटना गराउने निष्कर्षमा पुगेको मिलनले बताएका छन् । बाबु र भाइको हत्यापछि आफूले पनि आत्महत्याको प्रयास गरेको तर सफल नभएको उनले बताएका छन् । लोकसेवा पास नभएकामा आफू धेरै निराश भएको, आफ्नै कारण बाबु पनि डिप्रेसनको शिकार भएको, बाबुले खोटाङमा आत्महत्याको प्रयास गरेकाले आफूमा बेचैन बढेको बयान उनले दिएका छन् ।

उनले भनेका छन्, ‘बुबाले मलाई धेरै नै माया गर्नुहुन्थ्यो । मलाई सरकारी जागिर खाएको देख्ने उहाँको सपना थियो । मैले प्रयाससमेत गरेको हुँ । सकिनँ त के गर्नु ? मेरो असफलताकै कारण बुबाले समेत आत्महत्या प्रयास गर्नुभयो । त्यही दिनदेखि मलाई पनि बुबालाई खुसी पार्न सकिएन भन्ने लाग्यो । सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेको हुँ ।’

बाबु र भाइको हत्यापछि आत्महत्या गर्न भक्तपुरको बिरुवा पुगेका उनले रूखको हाँगामा पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए । तर, हाँगा भाँचिएकाले उनी जोगिए ।

मिलनले भनेका छन्, ‘हत्यापछि म भक्तपुरकै बिरुवा गएँ, गलबन्दीको पासो लगाएर रूखमा झुन्डिएँ । तर, गलबन्दीको गाँठो फुस्कियो । भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो । बुबा र भाइ मरेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ ।’

आफूले ‘नयाँ जीवन’ पाएपछि भक्तपुर दरबार स्क्वायर गएर दिनभरि बसेको, साँझ परेपछि चावहिलको सगरमाथा होटलमा कोठा लिएर बसेको उनको भनाइ छ । ‘त्यहाँ दुई रात बसेपछि मंगलबार बिहान पत्रिकामा समाचार देखेँ । त्यो पत्रिका बोकेर कोटेश्वरतिर गएँ । तर, त्यहाँ पुग्दा गल्ती ठाउँमा पुग्दै छु जस्तो लागेर गाडीबाट ओर्लिएँ । महाराजगन्जको गाडी चढें । महाराजगन्जको पुलिस अफिसको सरलाई पत्रिका देखाएर ‘यो मै हो’ भनेँ,’ उनले भनेका छन् ।

उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?