ठेकेदार कम्पनीको अटेरीले रोकियो बागलुङ र गुल्मी जोड्ने सडक निर्माणको काम

लोकपथ
161
Shares
सांकेतिक तस्बिर

बागलुङ । जिल्लाको मालढुङ्गादेखि गुल्मीको शान्तिपुर जोड्ने सडक निर्माण पाँच वर्षदेखि रोकिएको छ ।

निर्माण कम्पनीले काम नगरेपछि उक्त सडक निर्माण हुन नसकेको हो । विसं २०६६ मा ट्र्याक खुलेको सडक स्तरोन्नति गर्न विसं २०७६ मा ठेक्का लगाइएको थियो ।

मालढुङ्गा–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्तर्गत रुम्टा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण हुन नसकेको हो ।

सडक कालोपत्रका लागि पाँच वर्ष अगाडि क्याराभान एण्ड शर्मा जेभीले ठेक्का लिएको पूर्वाधार विकास कार्यालय बागलुङका सूचना अधिकारी दीपेश रिगलले जानकारी दिए ।

उनका अनुसार निर्माण कम्पनीले २८ करोड ५८ लाख ५७ हजार आठ सय १७ मा ठेक्का लागेको थियो । विसं २०७८ मा सम्पन्न गर्ने गरी जिम्मा लिए पनि चार पटकसम्म म्याद थप गर्दा करिब ५८ प्रतिशत मात्रै भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

आगामी चैत मसान्तसम्मका लागि अन्तिम पटक म्याद थप गरे पनि फिल्डमा काम सुरु नभएको उनको भनाइ छ ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले निर्माण कम्पनीलाई बारम्बार काम गर्न आग्रह गरे पनि अटेर गरेको बताए ।

ट्रयाक खुलेको १५ वर्ष बित्न लाग्दासम्म सडक स्तरोन्नति नहुँदा दक्षिण बागलुङ र गुल्मीका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको उनको भनाइ छ । दैनिक सयौँ यात्रुले यात्रा गर्ने सडक साँघुरो र अप्ठ्यारो हुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?